जनकपुरधाम, १६ असार । जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका सात जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार खोजतलास तथा फैसला कार्यान्वयन अभियान सञ्चालन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकामध्ये वन पैदावारसम्बन्धी चार मुद्दाका प्रतिवादीलाई जरिवाना सजाय, लेनदेन बिगो मुद्दाका एक प्रतिवादीलाई एक वर्ष कैद, चेक अनादर मुद्दाका एक प्रतिवादीलाई एक हजार रुपैयाँ जरिवाना तथा कुटपिट मुद्दाका एक प्रतिवादीलाई एक महिना १५ दिन कैदसहित दुई हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइएको छ ।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइएको उनले जानकारी दिए ।

प्रहरीले अदालतका फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई अझ तीव्र बनाइने जनाएको छ ।