बोक्सीको आरोप मानवताविरुद्धको अपराध: उपसभामुख ठाकुर

जनकपुरधाम, १६ असार । प्रतिनिधिसभाकी उपसभामुख रुबी ठाकुरले बोक्सी प्रथाजस्तो अमानवीय कुप्रथाको अन्त्यका लागि समाजका पछाडि पारिएका समुदाय स्वयं शिक्षित, सचेत र संगठित हुनुपर्ने बताएकी छन् ।
‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानद्वारा मंगलबार जनकपुरधाममा आयोजित बोक्सी प्रथाविरुद्ध जनचेतनामूलक अभियानको उद्घाटन गर्दै उपसभामुख ठाकुरले अशिक्षा, अन्धविश्वास र सामाजिक विभेदका कारण अझै पनि महिलामाथि बोक्सीको आरोप लगाएर हिंसा, अपमान र सामाजिक बहिष्कार गर्ने प्रवृत्ति कायम रहनु दुःखद भएको बताइन् ।
उनले कुनै पनि व्यक्ति जन्मजात बोक्सी नहुने स्पष्ट पार्दै अन्धविश्वासका आधारमा कसैमाथि आरोप लगाउनु मानवता र कानुन दुवैविरुद्धको कार्य भएको उल्लेख गरिन् ।
समाजमा परिवर्तन ल्याउन बाहिरी प्रयास मात्र पर्याप्त नहुने भन्दै पछाडि पारिएका वर्ग र समुदाय आफैं पनि परिवर्तनको अभियानमा अग्रसर हुनुपर्नेमा उनले जोड दिइन् ।
उपसभामुख ठाकुरले शिक्षा नै सामाजिक रूपान्तरणको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै महिला, दलित, विपन्न तथा सीमान्तकृत समुदायलाई शिक्षित र अधिकारप्रति सचेत बनाउन सरकार, स्थानीय तह, सामाजिक संघसंस्था र नागरिक समाजबीच समन्वित प्रयास आवश्यक रहेको बताइन् ।
उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई समानता, सम्मान र सुरक्षित जीवन बाँच्ने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै बोक्सीको आरोप लगाएर कुनै पनि व्यक्तिमाथि हुने हिंसा, यातना वा सामाजिक बहिष्कार कानुनअनुसार दण्डनीय अपराध भएको उल्लेख गरिन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले बोक्सी प्रथा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै यसको पूर्ण अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै गाउँगाउँसम्म जनचेतना अभियान सञ्चालन गर्नुपर्ने धारणा राखे ।
उनीहरूले अन्धविश्वासको अन्त्य, शिक्षा विस्तार, महिला सशक्तीकरण र सामाजिक रूपान्तरणलाई अभियानको मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका अवसरमा बोक्सीको आरोपमा प्रताडित भई विभिन्न प्रकारका हिंसा तथा सामाजिक विभेद भोगेका महिलाहरूलाई सम्मानसमेत गरिएको थियो ।

