रौतहटबाट १० फरार प्रतिवादी पक्राउ

रौतहट, १६ असार । जिल्ला अदालत रौतहटबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तथा जरिवाना तोकिएपछि लामो समयदेखि फरार रहेका १० जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकामध्ये अधिकांश चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन् भने कुटपिट तथा लेनदेन बिगोसम्बन्धी मुद्दाका प्रतिवादी पनि रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार पक्राउ पर्नेमा गरुडा नगरपालिका–५ का ओमनाथ गिरी, शिवशंकर पाण्डे र राकेश कुमार जैसवाल, गरुडा–३ का पनिलाल सहनी, कटहरिया नगरपालिका–७ का सोनालाल भगत, माधवनारायण नगरपालिका–४ का परशुराम यादव र राजदेव यादव तथा गढीमाई नगरपालिका–९ का रामईश्वर सहनीलगायतका प्रतिवादी रहेका छन् ।
प्रहरीका अनुसार अदालतले तोकेको कुल ६ हजार ७०० रुपैयाँ जरिवाना असुल गरी फैसला कार्यान्वयनका लागि पक्राउ परेका सबै प्रतिवादीलाई मंगलबार जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ ।
प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिने जनाएको छ ।

