चुरे संरक्षण र हरियो वन अभियानमा बजेट अभाव मुख्य चुनौती

जनकपुरधाम, १६ असार । वन संरक्षणसँगै वन्यजन्तुको संरक्षणलाई पनि समान प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
वन विनाश, चुरे क्षेत्रको बढ्दो दोहन, वन्यजन्तुको बासस्थानमा परेको असर तथा सीमित बजेटका कारण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन चुनौती रहेको निष्कर्ष निकाल्दै डिभिजन वन कार्यालय धनुषाले वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी आयोजना गरेको छ ।
डिभिजन वन कार्यालय धनुषाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रम चुरे नदी प्रणाली संरक्षण सरोकार पत्रकार समाजको सहजीकरण तथा नेपाल पत्रकार महासंघ धनुषाको समन्वयमा आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले वन संरक्षणको चर्चा मात्र पर्याप्त नभई वन्यजन्तुको संरक्षणलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताए ।
वन र वन्यजन्तु एकअर्काका परिपूरक भएकाले वन बचाएर मात्र दिगो वातावरण संरक्षण सम्भव नहुने उनको भनाइ थियो ।
उनले प्रदेश सरकारले वन तथा वातावरण संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै स्रोत साधनको सीमितताका बीच पनि संरक्षण अभियानलाई निरन्तरता दिइएको बताए ।
हरियो वनको संरक्षण तथा चुरे क्षेत्र जोगाउने अभियानमा बजेट अभाव ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले उपलब्ध स्रोतको अधिकतम उपयोग गरेर काम भइरहेको बताए ।
मन्त्री चौधरीले आफू सार्वजनिक जिम्मेवारीमा पारदर्शितापूर्वक काम गरिरहेको दाबी गर्दै कुनै कमजोरी वा त्रुटि देखिए त्यसलाई तथ्यका आधारमा औंल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरे ।
सत्य र तथ्यमा आधारित पत्रकारिताले सरकारलाई अझ उत्तरदायी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी वन क्षेत्रका अधिकारीहरूले चुरे क्षेत्रको संरक्षण, अवैध वन पैदावार ओसारपसार नियन्त्रण, वन अतिक्रमण रोकथाम, वन डढेलो नियन्त्रण तथा सामुदायिक वनको प्रभावकारी व्यवस्थापनमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे ।
वन संरक्षणका नीति प्रभावकारी भए पनि कार्यान्वयनमा बजेट, जनशक्ति र प्राविधिक स्रोतको अभावले अपेक्षित उपलब्धि हासिल गर्न कठिन भइरहेको उनीहरूको भनाइ थियो ।
वक्ताहरूले जलवायु परिवर्तनको असर सबैभन्दा बढी वन क्षेत्रमा देखिन थालेको उल्लेख गर्दै वन विनाशसँगै जैविक विविधता र वन्यजन्तुको प्राकृतिक बासस्थान समेत जोखिममा पर्दै गएको बताए ।
वन संरक्षणलाई स्थानीय समुदाय, सञ्चारमाध्यम र सरोकारवाला निकायको साझा अभियान बनाउनुपर्नेमा उनीहरूले जोड दिए ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले वन तथा वातावरणसँग सम्बन्धित समाचारलाई तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्ने बताउँदै वन संरक्षण अभियानमा सञ्चारमाध्यमले जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखे ।
कार्यक्रममा वन कार्यालयका कर्मचारी, प्रदेश वन निर्देशनालयका प्रतिनिधि, पत्रकार, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

