जनकपुरधाम, १५ असार । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा मोनास्टिक स्कुलले विद्यार्थीलाई नेपाली कृषि परम्परा, संस्कृति र श्रमको महत्वसँग परिचित गराउने उद्देश्यले विविध कार्यक्रम आयोजना गरेको छ ।

दिवसका अवसरमा कक्षा ५ का विद्यार्थीले विद्यालय नजिकैको खेतमा पुगेर स्थानीय किसानसँगै धान रोपाइँमा सहभागिता जनाएका थिए ।

प्रत्यक्ष रूपमा खेतमा काम गर्दै उनीहरूले कृषि पेशाको महत्व, किसानको मेहनत तथा धान उत्पादन प्रक्रियाबारे व्यवहारिक ज्ञान हासिल गरेका विद्यालयले जनाएको छ ।

त्यसैगरी, प्रि–स्कुल तहका बालबालिकाले विद्यालय परिसरमै धान रोपेर राष्ट्रिय धान दिवस मनाएका थिए ।

सानै उमेरदेखि कृषि, प्रकृति र नेपाली संस्कृतिप्रति सम्मानको भावना विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका निर्देशक डा. सोनु साहले बताए ।

कार्यक्रमको समापनमा विद्यार्थीलाई असार १५ को परम्परागत परिकार दही, चिउरा र आँप खुवाइएको थियो । यसबाट विद्यार्थीलाई नेपाली मौलिक संस्कृति र परम्परासँग थप नजिक बनाउने प्रयास गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार कक्षाकोठाभित्रको अध्ययनमा मात्र सीमित नरही व्यवहारिक सिकाइ, सांस्कृतिक चेतना र सामाजिक जिम्मेवारीलाई पनि शिक्षा प्रणालीको अभिन्न अंग बनाउने उद्देश्यले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आइएको छ ।