महोत्तरी, १५ असार । महोत्तरी जिल्लामा भूमिसम्बन्धी समस्या समाधानको प्रक्रिया प्रभावकारी बनाउने तथा मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायबीच समन्वय सुदृढ गर्ने उद्देश्यले सोमबार जिल्ला भूमि समस्या समाधान समिति तथा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा जिल्ला भूमि आयोगको हालसम्मको कामकारबाही, बाँकी रहेका चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो ।

त्यस्तै, वर्षायाम सुरु भएसँगै बाढी, डुबान र अन्य प्राकृतिक विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी, उद्धार, राहत तथा विभिन्न निकायबीचको समन्वयका विषयमा पनि समीक्षा गरिएको थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सम्बन्धित सबै निकायले जिम्मेवारीका साथ समन्वय गरेर काम गर्नुपर्ने बताए ।

उनले भूमिसम्बन्धी समस्या समाधानमा तथ्यपरक विवरण, पारदर्शी प्रक्रिया र जनविश्वास कायम राख्दै काम अघि बढाउनुपर्नेमा जोड दिए । साथै कुनै पनि नागरिक अन्यायमा नपर्ने गरी कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी यादवले मनसुन सक्रिय भइसकेकाले विपद्को सम्भावित जोखिमलाई समयमै पहिचान गरी पूर्वतयारीलाई प्रभावकारी बनाउन निर्देशन दिँदै स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा सरोकारवाला सबै निकायबीच निरन्तर समन्वय आवश्यक रहेको बताए ।

बैठकमा सहभागीहरूले भूमि व्यवस्थापनसँग सम्बन्धित समस्या समाधानका लागि निकायहरूबीच सहकार्य बढाउनुपर्ने तथा विपद् व्यवस्थापनमा पूर्वसूचना प्रणाली, राहत सामग्रीको तयारी र उद्धार संयन्त्रलाई चुस्त बनाउनुपर्ने सुझाव दिएका थिए ।

बैठकमा जिल्ला समन्वय समिति, स्थानीय तह, सुरक्षा निकाय, सम्बन्धित सरकारी कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।