जनकपुरधाम, १५ असार । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रको आधुनिकीकरण र किसानमैत्री नीति कार्यान्वयनलाई प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

रौतहटको कटहरिया नगरपालिका–६ मा राष्ट्रिय किसान महासंघले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री यादवले स्वयं खेतमा धान रोपेर किसानसँग श्रम साटासाट गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, किसान तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

मुख्यमन्त्री यादवले धान दिवस परम्परागत पर्व मात्र नभई देशको खाद्य सुरक्षा, किसानको जीवनस्तर र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण अवसर भएको बताए ।

उनले जलवायु परिवर्तनका चुनौतीका बीच उत्पादन वृद्धि गर्न आधुनिक प्रविधि, गुणस्तरीय बीउ, पर्याप्त मल तथा भरपर्दो सिँचाइ प्रणालीको विकास अपरिहार्य रहेको उल्लेख गरे ।

उनले प्रदेश सरकारले कृषिलाई उत्पादनमुखी र व्यवसायिक बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै किसानलाई प्रविधि, तालिम र बजारसँग जोड्ने योजनालाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

‘किसानको मेहनतले नै हाम्रो खाद्य सुरक्षा सुनिश्चित हुन्छ । त्यसैले किसानको सम्मान, उत्पादन वृद्धि र कृषि क्षेत्रको आधुनिकीकरणमा प्रदेश सरकार निरन्तर लागिपरेको छ,’मुख्यमन्त्री यादवले भने ।

कार्यक्रममा सहभागी नेता तथा किसानहरूले पनि कृषि उत्पादन वृद्धि, सिँचाइ सुविधा विस्तार, समयमा मल–बीउको उपलब्धता तथा किसानमैत्री नीति कार्यान्वयनमा जोड दिएका थिए ।

हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्वका रूपमा मनाइँदै आएको छ ।

यस दिन देशभर किसान खेतमा धान रोपेर कृषि संस्कृतिको संरक्षणसँगै उत्पादन वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्ने परम्परा रहेको छ ।