जनकपुरधाम, १५ असार । बोक्सी प्रथाजस्ता अन्धविश्वास, हिंसा र सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानले धनुषाका विभिन्न स्थानमा जनचेतनामूलक अभियान सञ्चालन गर्ने भएको छ ।

प्रतिष्ठानका राष्ट्रिय संयोजक कोविदशरण उपाध्यायले बोक्सीको आरोपमा हुने हिंसा न्यूनीकरण गर्न समुदायस्तरमै पुगेर सचेतना फैलाइने जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०८३/०८४ भरि धनुषामा बोक्सीको आरोपमा घटना भएका बस्ती र समुदायलाई प्राथमिकतामा राखेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

उनले बोक्सी प्रथाविरुद्ध कानुनी व्यवस्था भए पनि अन्धविश्वासका कारण ग्रामीण क्षेत्रमा यस्ता घटना अझै दोहोरिरहेकाले प्रभावित समुदायमै पुगेर जनचेतना अभिवृद्धि गर्ने अभियान अघि बढाइएको बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा बोक्सीको आरोपमा प्रताडित गरिएका पाँच वटा घटना दर्ता भएका थिए ।

प्रतिष्ठानले ती घटनासँग सम्बन्धित क्षेत्रमै पुगेर स्थानीयवासीसँग अन्तरक्रिया, सचेतना तथा सामाजिक रूपान्तरणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

अभियानको उद्घाटन प्रतिनिधिसभाकी उपसभामुख रुवी ठाकुरले गर्ने कार्यक्रम तय गरिएको प्रतिष्ठानले जनाएको छ ।

नेपालमा ‘बोक्सी सम्बन्धी कसुर र सजाय ऐन, २०७२’ लागू भई बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने वा अमानवीय व्यवहार गर्नेलाई कानुनी कारबाहीको व्यवस्था भए पनि सामाजिक अन्धविश्वासका कारण यस्ता घटना पूर्ण रूपमा रोकिन सकेका छैनन् ।

प्रतिष्ठानले धनुषाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिने अभियानमार्फत बोक्सी प्रथाविरुद्ध सामाजिक सचेतना अभिवृद्धि गर्दै हिंसामुक्त र विभेदरहित समाज निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।