मुजेलियाको खेतमा उपसभामुख ठाकुर, राष्ट्रिय धान दिवसमा रोपाइँमा सहभागी

जनकपुरधाम, १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा नेपालकी रुबीकुमारी ठाकुर आफ्नै खेतमा पुगेर धान रोपाइँमा सहभागी भएकी छन् ।
जनकपुरधामको मुजेलिया क्षेत्रमा रहेको आफ्नै खेतमा पुगेर उपसभामुख ठाकुरले किसानसँगै धान रोप्दै कृषि पेसाप्रति सम्मान व्यक्त गरिन् ।
धान रोपाइँमा सहभागी हुँदै उनले कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड भएकाले किसानको श्रम र योगदानको उच्च कदर हुनुपर्ने बताइन् ।
उपसभामुख बन्नुअघि पनि उनी नियमित रूपमा खेतीपातीमा संलग्न रहने गरेको बताइन्छ । किसान परिवारमा हुर्किएकी ठाकुरका बुबाआमा अहिले पनि कृषि कर्ममै सक्रिय छन् ।
त्यसैले सार्वजनिक जिम्मेवारीमा पुगेपछि पनि कृषि र किसानसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ ।
हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्वका रूपमा देशभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ ।
यस अवसरमा किसान, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू खेतमा पुगेर धान रोपाइँमा सहभागी हुने परम्परा रहँदै आएको छ ।

