बारा, १४ असार । बारासँग जोडिएको नेपाल–भारत सीमाक्षेत्रमा दुई किलो अफिमसहित दुई नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको सशस्त्र सीमा बल (एसएसबी) ७१ बटालियन र महुआवा प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा शनिबार अपराह्न भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण जिल्लाको सीमा स्तम्भ नम्बर ३८१ नजिक संयुक्त अपरेसन सञ्चालन गरेको थियो । उक्त स्थान नेपाल–भारत सीमाबाट करिब १५० मिटर भारतीय भूभागभित्र पर्ने जनाइएको छ ।

संयुक्त टोलीले नेपालबाट भारततर्फ तस्करीका लागि लैजाँदै गरेको अवस्थामा करिब दुई किलो अफिम (प्याकिङसहित) जस्तो देखिने लागूऔषध र एउटा हिरो होन्डा मोटरसाइकल बरामद गरेको हो ।

एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट विश्वजित तिवारीका अनुसार पक्राउ पर्नेमा बारा जिल्लाको लंगडा चोक निवासी ४० वर्षीय दिनेश राम र ४१ वर्षीय सोना लाल पासवान रहेका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा तस्करीमा भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्ला अन्तर्गत जितना थाना क्षेत्रको भवानीपुर गाउँ निवासी ४० वर्षीय लालबाबु सिंहको समेत संलग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

बरामद लागूऔषध, मोटरसाइकल तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी कारबाहीका लागि महुआवा प्रहरीको जिम्मा लगाइएको एसएसबीका प्रवक्ता विनित कुमार सिंहले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र लागूऔषध तस्करीमा संलग्न अन्य व्यक्तिको खोजीसमेत भइरहेको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन् ।