जनकपुरधाम, १४ असार । जलवायु परिवर्तनका कारण बढ्दो वातावरणीय जोखिम तथा त्यसबाट प्रभावित समुदायको अधिकार सुनिश्चित गर्ने उद्देश्यले जनकपुरधाममा एकदिने ‘जलवायु न्याय अभियान क्षमता अभिवृद्धि कार्यशाला’ सम्पन्न भएको छ ।

दिगो विकास इन्स्टिच्युट नेपालको समन्वय तथा युवा अभियन्ता आभाष कर्णको नेतृत्वमा आयोजित कार्यशाला नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा कायापलट, ओरेक नेपाल तथा अन्य साझेदार संस्थाहरूको सहकार्य र सहयोग रहेको आयोजकले जनाएको छ ।

कार्यशालामा मधेश प्रदेशका आठ जिल्लाबाट आएका करिब ४५ जना युवा, सामाजिक अभियन्ता तथा जलवायु अभियन्ताहरू सहभागी भएका थिए ।

सहभागीहरूले जलवायु परिवर्तनले निम्त्याएको चुनौती, जलवायु न्यायको अवधारणा, नीति निर्माणमा युवाको भूमिका तथा स्थानीय तहमा जलवायुमैत्री योजनाको आवश्यकता लगायतका विषयमा समूहगत छलफल गरेका थिए । साथै उनीहरूले जलवायु न्यायसँग सम्बन्धित विभिन्न परियोजना तथा कार्ययोजना तयार गरी प्रस्तुतसमेत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले जलवायु परिवर्तनको प्रभावबारे जनचेतना अझै पर्याप्त नभएको बताउँदै युवाहरूको सक्रियता प्रशंसनीय रहेको धारणा राखे ।

उनले भने, ‘जनकपुरधाममा वातावरण संरक्षण र जलवायु परिवर्तनबारे जनचेतना अझै न्यून छ । यस्ता कार्यक्रमले नागरिकलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्छन् । अब यस्ता अभियान वडा–वडासम्म विस्तार गर्न आवश्यक छ । उपमहानगरपालिकाको तर्फबाट आवश्यक सहयोग रहनेछ ।’

कार्यक्रममा ओरेक नेपाल मधेश प्रदेश संयोजक बिना सिंहले जलवायु परिवर्तनले विशेषगरी महिला तथा सीमान्तकृत समुदायको स्वास्थ्य, जीविकोपार्जन र दैनिकीमा पारेको असरबारे प्रकाश पारिन् । उनले जलवायु न्यायका नीति निर्माणमा महिलाको सहभागिता र दृष्टिकोणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

कायापलट संस्थाका कार्यक्रम अधिकृत प्रत्युष ठाकुरले जलवायु परिवर्तनको वर्तमान अवस्था, मधेश प्रदेशमा देखिएका वातावरणीय संकट, जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मानव अधिकार र युवाको दायित्वबारे प्रस्तुति दिएका थिए । उनले जलवायु परिवर्तनलाई वातावरणीय मुद्दाका रूपमा मात्र नभई सामाजिक न्यायसँग जोडिएको विषयका रूपमा बुझ्नुपर्ने बताए ।

कार्यक्रमका संयोजक आभाष कर्णले जलवायु न्यायको अवधारणा, त्यसमा युवाको भूमिका तथा नेतृत्व विकासको आवश्यकतामाथि विस्तृत प्रस्तुति दिएका थिए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि युवाको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय स्तरबाटै परिवर्तनको शुरुवात गर्नुपर्ने बताए ।

उनका अनुसार कार्यशालाको मुख्य उद्देश्य युवाहरूमा जलवायु परिवर्तन, जलवायु न्याय र वातावरण संरक्षणसम्बन्धी ज्ञान तथा नेतृत्व क्षमता विकास गर्नु हो ।

उनले भने, ‘सचेतनालाई व्यवहारमा रूपान्तरण गर्दै युवालाई दिगो विकास र वातावरण संरक्षण अभियानमा सक्रिय बनाउनु हाम्रो उद्देश्य हो । जनकपुरधाममा फोहोर व्यवस्थापन, हरियाली संरक्षण र जलवायु परिवर्तनका कारण देखिएका समस्याको समाधानका लागि आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिनेछौं ।’

कार्यक्रममा टोलीका सदस्य धर्मेन्द्र कुमार महतोले जलवायु संकट समाधानका प्रभावकारी तथा अप्रभावकारी उपायबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए । त्यस्तै, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले सञ्चारमाध्यम, सूचना प्रविधि तथा डिजिटल प्लेटफर्ममार्फत जलवायु न्यायसम्बन्धी जनचेतना फैलाउन सकिने बताए ।

आयोजकका अनुसार कार्यशालामार्फत सहभागी युवाहरूले आफ्नो समुदायमा जलवायु न्यायसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, स्थानीय तहसँग समन्वय गरी वातावरण संरक्षणका अभियान सञ्चालन गर्ने तथा दिगो विकासका लक्ष्य प्राप्तिमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दिगो विकास इन्स्टिच्युट नेपालले दिगोपन, समानता र जलवायु न्यायको प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा युवा नेतृत्व विकास गर्ने तथा सकारात्मक सामाजिक परिवर्तनका लागि युवाको आवाजलाई सशक्त बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।