जनकपुरधाम, १४ असार । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आइतबार जनकपुरधाममा संघीयता कार्यान्वयनको अवस्था, तहगत समन्वय तथा राष्ट्रिय सरोकारका विषयमा अन्तरक्रिया एवं स्थलगत अनुगमन कार्यक्रम सम्पन्न गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, वित्तीय तथा प्रशासनिक संघीयताको प्रभावकारी कार्यान्वयन, आवश्यक कानुन निर्माण, स्रोत व्यवस्थापन, आयोजना कार्यान्वयन, राष्ट्रिय सम्पदाको संरक्षण तथा समन्यायिक विकासका विविध पक्षमा छलफल गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै समितिकी सभापति रोशनी मेचेले संघीय व्यवस्थामाथि भइरहेका टिप्पणी र प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संघीयतामाथिको कुनै पनि प्रकारको आक्रमण स्वीकार्य नहुने बताइन् । उनले संघीय शासन प्रणालीलाई थप प्रभावकारी र जनमुखी बनाउँदै यसको सफल कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइन् ।

सभापति मेचेले पछिल्लो समय सामाजिक न्यायको अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै लैंगिक हिंसा, श्रम शोषण तथा विभेदजन्य गतिविधिले सभ्य समाज निर्माणमा चुनौती थपिरहेको बताइन् । यस्ता विकृतिको अन्त्यका लागि राज्यका सबै तह र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

अन्तरक्रियामा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले स्थानीय तहले संघीयताको मर्मअनुसार सेवा प्रवाह र विकास निर्माणलाई अघि बढाइरहेको उल्लेख गर्दै संघ र प्रदेशसँगको समन्वय अझ प्रभावकारी हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा समितिका सदस्य मनरुपा शर्मा, धर्मेन्द्र पासमान, उपप्रमुख किशोरी साह, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

समितिले जनकपुरधाममा गरेको अन्तरक्रिया तथा स्थलगत अनुगमनबाट संघीयता कार्यान्वयनमा देखिएका चुनौती, कानुनी तथा प्रशासनिक सुधारका आवश्यकता र तहगत समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा सुझाव संकलन गरेको जनाएको छ ।