जनकपुरधाम हरियाली अभियान सुरु, प्रमुख सडकमा दुई हजारभन्दा बढी बिरुवा रोपियो

जनकपुरधाम, १४ असार । जनकपुरधाम उपमहानगरपालिकाले नगरलाई हरित, स्वच्छ र वातावरणमैत्री शहरका रूपमा विकास गर्ने लक्ष्यसहित वृक्षारोपण अभियान सुरु गरेको छ ।
अभियानको पहिलो चरणअन्तर्गत आइतबार नगरको प्रमुख सडक क्षेत्रमा ट्रीगार्डसहित दुई हजारभन्दा बढी बिरुवा रोपिएको छ ।
उपमहानगरपालिकाका अनुसार थापा चोकदेखि मुजेलियासम्मको सडक खण्डमा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । रोपिएका बिरुवाको संरक्षण सुनिश्चित गर्न प्रत्येक बिरुवामा ट्रीगार्डसमेत जडान गरिएको छ ।

नगर प्रमुख मनोजकुमार साहले बढ्दो शहरीकरण, प्रदूषण र तापक्रम वृद्धिका चुनौतीलाई मध्यनजर गर्दै हरियाली विस्तारका लागि वृक्षारोपण अभियान सञ्चालन गरिएको बताए ।
उनले अभियानलाई निरन्तरता दिँदै आगामी चरणमा जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला अदालत हुँदै भैरव चोकसम्मको सडक क्षेत्रमा पनि वृक्षारोपण गरिने जानकारी दिए ।
उनका अनुसार हरियाली विस्तारले वातावरणीय सन्तुलन कायम गर्नुका साथै हावाको गुणस्तर सुधार, तापक्रम नियन्त्रण र नगरको सौन्दर्य अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक स्थल, सडक किनारा तथा खाली सरकारी जग्गामा समेत वृक्षारोपण अभियानलाई क्रमिक रूपमा विस्तार गर्ने योजना बनाएको जनाएको छ । साथै, रोपिएका बिरुवाको नियमित हेरचाह र संरक्षणलाई पनि प्राथमिकतामा राखिने उपहानगरपालिकाले जनाएको छ ।
स्थानीय तहले सञ्चालन गरेको यो अभियानले वातावरण संरक्षणसँगै जनकपुरधामलाई थप हराभरा र व्यवस्थित शहरका रूपमा विकास गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ ।


