जनकपुरधाम, ०६ कार्तिक । चाडपर्वका कारण रक्तदान कार्यक्रमहरू न्यून हुँदा धनुषास्थित रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात घट्दै गएको छ ।

रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले विभिन्न संघसंस्था, युवा क्लब तथा नियमित रक्तदाताहरूलाई रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेको छ ।

चाडपर्वको समयमा रक्तदान कार्यक्रम कम हुने तर बिरामीलाई रगतको आवश्यकता निरन्तर रहने भएकाले रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो ।

दुर्घटनामा परेका व्यक्ति, शल्यक्रिया गर्नुपर्ने बिरामी तथा अन्य आकस्मिक अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगतको उपलब्धता सहज बनाउन रक्तदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने रेडक्रसको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको मौज्दात घट्ने समस्या देखिएको भन्दै रक्तदानका लागि सबैलाई सक्रिय हुन आग्रह गरेका छन् ।

महतोका अनुसार रगत कृत्रिम रूपमा उत्पादन गर्न नसकिने भएकाले यसको उपलब्धता स्वैच्छिक रक्तदाताको सहयोगमा निर्भर हुन्छ । समयमै रगत उपलब्ध नहुँदा बिरामीको उपचारमा समस्या आउन सक्ने भएकाले संघसंस्था, युवा क्लब, सामाजिक अभियन्ता तथा नियमित रक्तदाताले रक्तदान कार्यक्रम आयोजना गर्न आवश्यक छ ।

उनले रक्तदानलाई कुनै निश्चित अवसर वा अभियानमा मात्र सीमित नराखी नियमित सामाजिक जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

रक्तदान गर्न सक्ने स्वस्थ व्यक्तिहरूलाई स्वेच्छाले रक्तदान गर्न र अरूलाई पनि यसका लागि प्रेरित गर्न उनले आग्रह गरे ।

चाडपर्वको समयमा समेत अस्पतालमा उपचाररत बिरामीलाई रगतको आवश्यकता पर्ने भएकाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिनु सबैको साझा दायित्व भएको रेडक्रसको भनाइ छ ।

रेडक्रस धनुषाले रक्तदान गर्न इच्छुक संघसंस्था, युवा क्लब तथा रक्तदाताहरूलाई रक्तदान कार्यक्रम आयोजना गरी मानवीय सेवामा योगदान पुर्‍याउन अनुरोध गरेको छ ।