महोत्तरी, ०६ कार्तिक । दशैँको अवसरमा जिल्लाका विभिन्न स्थानमा लाग्ने मेलामा मोटरसाइकल मोडिफाई गरी चर्को आवाज निकाल्ने, अनावश्यक हर्कत गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने १९ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडपर्वका बेला मेलामा हुने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न तथा सर्वसाधारणको सुरक्षा र सडक अनुशासन कायम राख्न प्रहरीले सक्रियता बढाएको हो ।

मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, सडकमा जथाभावी सवारी चलाउने र ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरीले निगरानी तथा चेकजाँचलाई तीव्र बनाएको जनाएको छ ।

यस्ता गतिविधिले ध्वनि प्रदूषण बढाउनुका साथै मेला भर्न आएका सर्वसाधारण, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य सवारी चालकलाई समेत असहज बनाउने र दुर्घटनाको जोखिम बढाउने गर्छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक पञ्चलाल गोलेका अनुसार मोडिफाई गरी ठूलो आवाज निकाल्ने, सार्वजनिक सडकमा अनावश्यक हर्कत गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने गतिविधि नियन्त्रण गर्न आवश्यक छ ।

उनले भने,’चाडपर्वको रमाइलोका नाममा अरूलाई सास्ती दिने र सडक सुरक्षामा जोखिम उत्पन्न गर्ने कार्य स्वीकार्य हुँदैन ।’

प्रहरीले चाडपर्व मनाउने क्रममा ट्राफिक नियमको पूर्ण पालना गर्न, सवारीसाधनको स्वरूप तथा ध्वनि प्रणालीमा गैरकानुनी परिवर्तन नगर्न र सार्वजनिक शान्ति खलल पुग्ने गतिविधि नगर्न सवारी चालकलाई आग्रह गरेको छ ।