फेसबुकमा पेस्तोल देखाउँदै नाच्ने युवती पक्राउ
जनकपुरधाम, ०६ कार्तिक । सामाजिक सञ्जाल फेसबुकमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नाचेको भिडियो सार्वजनिक गर्ने एक युवतीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नगराइन नगरपालिका–६ निवासी अन्दाजी २६ वर्षीया नजिमा खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार खातुनले समाजमा हिंसा र त्रास फैलाउन उत्प्रेरित गर्ने किसिमले सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको र उक्त भिडियो फेसबुकमा अपलोड गरेको पाइएको छ ।
सोही घटनाको अनुसन्धानका क्रममा उनलाई कार्तिक ४ गते राति करिब ९ः३० बजे गणेशमान चारनाथ नगरपालिका–९ बाट प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेकी खातुनमाथि इलाका प्रहरी कार्यालय सबैलाबाट प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे जानकारी दिइएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




