महोत्तरी, ०६ कार्तिक । महोत्तरीको जलेश्वरमा मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् ।

जलेश्वर नगरपालिका–२ स्थित पासवान टोलमा खाद्य संस्थान अगाडि शुक्रबार साँझ करिब ६ः५० बजे दुर्घटना भएको हो ।

जलेश्वरबाट जनकपुरधामतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR30AF462) ले बाटो काट्ने क्रममा स्थानीय अर्जुन पासवानका छोरा आदर्श पासवानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट बालकको मुख, टाउको र खुट्टामा चोट लागेको छ ।

घटनापछि स्थानीयवासीले उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्‍याएका थिए ।

बालकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि साँझ ७ः०५ बजे जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा रहेको छ भने चालक फरार छन् । फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट जलेश्वरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक मदन मल्लको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।