यौन दुर्व्यवहारको आरोपमा चार जना पक्राउ
जनकपुरधाम, ०६ कार्तिक । धनुषामा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
दशैँको मेला हेरेर घर फर्किरहेका एक युवक र एक बालिकालाई घेरा हाली भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर रकम असुली गरेको तथा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घटना कार्तिक ४ गते राति करिब ८ बजे जनकपुरधाम उपमहानगरपालिका–२० मा भएको हो ।
मेला हेरेर पैदलै बसैलातर्फ फर्किरहेका युवक र बालिकालाई दुईवटा मोटरसाइकलमा आएका चार जनाको समूहले बाटो छेकेर धम्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपितहरूले दुवै जनालाई घेरा हाली भिडियो बनाएका थिए । उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिने भन्दै धम्की दिनुका साथै पीडितका अभिभावकलाई फोन गरेर रकम मागेको आरोप छ ।
उनीहरूले मोबाइल बैंकिङमार्फत ६ हजार रुपैयाँसमेत ट्रान्सफर गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




