जनकपुरधाम, १३ असार । मिथिला उद्योग वाणिज्य संघ ढल्केबरको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा उद्योग व्यवसायको प्रवर्द्धन, निजी क्षेत्रको सशक्त भूमिका तथा आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायीबीच एकता आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्य तथा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेज नारायण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न उद्योगी, व्यवसायी, संघका पदाधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि भण्डारीले निजी क्षेत्र मुलुकको आर्थिक विकासको प्रमुख आधार भएकाले उद्योगी व्यवसायीका साझा समस्या समाधानका लागि सबै उद्योग वाणिज्य संघबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी संवाद हुनुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष तेज नारायण साहले संघले विगतका वर्षहरूमा व्यवसायीहरूको हकहित संरक्षण, व्यापार प्रवर्द्धन तथा संस्थागत विकासका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरेको उल्लेख गर्दै आगामी दिनमा पनि उद्योगी व्यवसायीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागी वक्ताहरूले मधेशको व्यापार, उद्योग, कृषि तथा लगानीको सम्भावना उजागर गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास र युवालाई व्यवसायतर्फ आकर्षित गर्ने नीति आवश्यक रहेको बताएका थिए ।

अधिवेशन सफलतापूर्वक सम्पन्न भएको अवसरमा वक्ताहरूले आगामी निर्वाचन पनि शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सबै उम्मेदवारलाई सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा संघका वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि समेत छलफल गरिएको आयोजकले जनाएको छ ।