जनकपुरधाम, १३ असार । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रसिक निवास (पिठ) को स्वामित्वमा रहेका जग्गाको वास्तविक अवस्था सार्वजनिक गर्न स्थानीयवासीले माग गरेका छन् ।

पिठको नाममा रहेको सम्पत्तिको संरक्षण, उपयोग र स्वामित्वसम्बन्धी स्पष्ट विवरण सार्वजनिक हुनुपर्ने भन्दै उनीहरूले वडा कार्यालयसँग औपचारिक रूपमा जानकारी मागेका हुन् ।

स्थानीयवासीका अनुसार रसिक निवासको नाममा रहेका जग्गाको क्षेत्रफल, हालको अवस्था, भोगचलन, अतिक्रमण भएको वा नभएको, तथा आय–व्ययसम्बन्धी विवरणबारे सर्वसाधारणलाई जानकारी उपलब्ध छैन । यसले विभिन्न आशंका उत्पन्न गरेको भन्दै पारदर्शिताका लागि सम्पूर्ण अभिलेख सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ ।

स्थानीयहरूले जनकपुरधाम उपमहानगरपालिका–८ का वडा अध्यक्ष दिनेश सिंहलाई सम्बोधन गर्दै पिठको स्वामित्वमा रहेका सबै जग्गाको अद्यावधिक विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् । उनीहरूका अनुसार सार्वजनिक सम्पत्ति वा धार्मिक गुठीसँग सम्बन्धित सम्पत्तिको व्यवस्थापन पारदर्शी हुनुपर्छ र त्यसबारे नागरिकले जानकारी पाउने अधिकार सुनिश्चित हुनुपर्छ ।

स्थानीय समाजसेवीहरूको भनाइमा धार्मिक तथा सांस्कृतिक सम्पदासँग जोडिएका जग्गाहरूको संरक्षण र व्यवस्थापन प्रभावकारी बनाउन पहिले त्यसको वास्तविक अवस्था सार्वजनिक हुनु आवश्यक छ । उनीहरूका अनुसार जग्गाको अभिलेख, नक्सा, क्षेत्रफल, भोगाधिकार र हालको उपयोगबारे स्पष्ट सूचना सार्वजनिक भए सम्भावित विवाद तथा भ्रम पनि हट्नेछ ।

स्थानीयवासीले वडा कार्यालयमार्फत सम्बन्धित निकायसँग समन्वय गरी रसिक निवास (पिठ) को नाममा रहेका सम्पूर्ण जग्गाको विवरण सार्वजनिक गर्न, आवश्यक परे स्थलगत अनुगमन गर्न तथा सार्वजनिक सुनुवाइसमेत आयोजना गर्न माग गरेका छन् ।

यस विषयमा वडा कार्यालयले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन । स्थानीयहरू भने सार्वजनिक सम्पत्तिको संरक्षण र पारदर्शिताका लागि सम्बन्धित निकायले यथाशीघ्र तथ्यगत विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिइरहेका छन् ।