जनकपुरधाम, १३ असार । मधेश प्रदेशमा आँप खेतीको क्षेत्रफल विस्तार भइरहे पनि यस वर्ष उत्पादनमा उल्लेख्य गिरावट आएको छ । हावाहुरी, रोग किराको प्रकोप तथा मौसमीय प्रतिकूलताका कारण उत्पादन घटेको कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाले जनाएको छ ।

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मधेश प्रदेशभर ३२ हजार ५७४ हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ । प्रतिहेक्टर औसत ९.०४ मेट्रिक टन उत्पादकत्वका आधारमा यस वर्ष कुल २ लाख ९४ हजार ५६७ मेट्रिक टन आँप उत्पादन भएको छ ।

तर, अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २९ हजार ८८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ११.४३ मेट्रिक टन उत्पादकत्वका दरले ३ लाख ४१ हजार ४४५ मेट्रिक टन आँप उत्पादन भएको थियो । यससँग तुलना गर्दा यस वर्ष क्षेत्रफल २ हजार ६९४ हेक्टरले बढे पनि उत्पादन ४६ हजार ८७८ मेट्रिक टनले घटेको देखिएको छ ।

कृषि विज्ञहरूका अनुसार यस वर्षको उत्पादन गिरावटमा मुख्य रूपमा हावाहुरी तथा रोग–किराको प्रकोप जिम्मेवार रहेको छ । कृषिविज्ञ हृदयनारायण ठाकुरका अनुसार फूल फुल्ने र फल लाग्ने समयमा आएको हावाहुरी तथा कीराको प्रकोपले उत्पादनमा प्रत्यक्ष असर पारेको हो ।

उनका अनुसार पछिल्ला वर्षहरूमा किसानहरू उन्नत जातका बिरुवा प्रयोग गर्न थालेका छन् र बगैंचा व्यवस्थापन तथा सिँचाइ प्रणालीमा सुधार आएको छ । तर, प्राकृतिक विपद् र रोग नियन्त्रण प्रभावकारी नहुँदा अपेक्षित उत्पादन हासिल हुन नसकेको उनले बताए ।

महोत्तरीको पिपरा गाउँपालिका–३ का किसान रामबालक पाण्डेले यस वर्ष आँप उत्पादन अत्यन्त कमजोर भएको गुनासो गरे । ‘समयमै स्याहार–सुसार गरे पनि हावाहुरी र रोगले फूलै झारिदियो, उत्पादन नै भएन,’ उनले भने, ‘लगानी उठ्ने अवस्था समेत छैन ।’

किसानहरूले बगैंचामा गरेको लगानी र मेहनतका बावजुद उत्पादन घट्दा ग्रामीण अर्थतन्त्रमा समेत असर परेको देखिन्छ ।

निर्देशनालयका तथ्याङ्कअनुसार मधेश प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी उत्पादकत्व बारामा १३.८० मेट्रिक टन प्रतिहेक्टर रहेको छ भने सबैभन्दा कम सर्लाहीमा ६.२० मेट्रिक टन प्रतिहेक्टर रहेको छ ।

जिल्लागत रूपमा हेर्दा सप्तरीमा ८,३८७ हेक्टरबाट ७५,५०० मेट्रिक टन, सिरहामा ९,०५० हेक्टरबाट ७२,४०० मेट्रिक टन, रौतहटमा ४,०७७ हेक्टरबाट ५४,३७८ मेट्रिक टन, महोत्तरीमा ३,००० हेक्टरबाट २९,७०० मेट्रिक टन, धनुषामा ३,३२४ हेक्टरबाट २३,२७५ मेट्रिक टन, बारामा १,४९५ हेक्टरबाट २०,६३१ मेट्रिक टन, सर्लाहीमा २,१०० हेक्टरबाट १३,००० मेट्रिक टन र पर्सामा ४४७ हेक्टरबाट ५,९६३ मेट्रिक टन आँप उत्पादन भएको हो ।

यसरी हेर्दा मधेश प्रदेशका प्रमुख आँप उत्पादक जिल्ला सिरहा र सप्तरी अग्रस्थानमा छन् ।

मधेश प्रदेशमा बम्बई, माल्दह, कृष्णभोग, जर्दा, अम्रपाली, बिजु, गुलाबखास, दशहरी र कलकतिया लगायतका आँपका जातहरू व्यावसायिक रूपमा उत्पादन हुँदै आएका छन् ।

मधेशमा उत्पादन भएको आँप आन्तरिक बजारसँगै काठमाडौँ उपत्यका र देशका अन्य प्रमुख सहरहरूमा समेत आपूर्ति हुने गरेको छ । वैशाखदेखि असारसम्म स्थानीय आँप बजारमा आउने गर्छ । सुरुमा बम्बई जात र पछि माल्दह तथा अन्य जातका आँप बिक्रीमा आउँछन् ।

फलफूल तथा तरकारी व्यवसायी संघ जनकपुरधामका उपाध्यक्ष रमन झाका अनुसार यस वर्ष धार्मिक तथा सामाजिक गतिविधि घट्दा आँपको बिक्री प्रभावित भएको छ । जेठ महिनामा पुरुषोत्तम मास परेकाले विवाह, व्रतबन्ध तथा अन्य कार्यक्रम कम हुँदा माग घटेको उनले बताए ।

फलफूल व्यवसायी कामेश्वर साहका अनुसार आर्थिक मन्दीका कारण उपभोक्ताको खरिद क्षमता घटेको छ । पहिले १०–२० किलोसम्म आँप किन्ने ग्राहक अहिले एकदेखि डेढ किलोमै सीमित भएको उनको भनाइ छ ।

यसैबीच, आँप व्यवसायी मुकेश साहका अनुसार किसानबाट ४०–५० रुपैयाँ प्रतिकिलोमा खरिद गरिएको आँप थोक बजारमा ६०–६५ रुपैयाँ र खुद्रा बजारमा ८०–१०० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

तर, बिक्री नहुँदा कतिपय व्यापारीलाई गोदाममै आँप कुहिने र फाल्नुपर्ने अवस्था समेत आएको व्यवसायीहरूको भनाइ छ ।

मधेशमा उत्पादित आँप असारसम्म बजारमा उपलब्ध हुने अनुमान गरिएको छ । त्यसपछि श्रावण महिनादेखि भारतको उत्तर प्रदेशबाट आँप आयात हुने परम्परा रहँदै आएको छ । तर, यस वर्ष आयात नीति र बजार व्यवस्थापनबारे अन्योल रहेको व्यवसायीहरूले बताएका छन् ।

यसैबीच, कृषि तथा व्यवसाय क्षेत्रका सरोकारवालाहरूले रोग नियन्त्रण, प्राविधिक सहयोग, सिँचाइ विस्तार र किसानलाई अनुदान बढाउन सके आगामी वर्ष उत्पादन सुधार सम्भव हुने बताएका छन् ।

मधेश प्रदेशमा आँप खेती व्यावसायिक रूपमा विस्तार भइरहेको भए पनि प्राकृतिक जोखिम र व्यवस्थापकीय कमजोरीका कारण उत्पादन स्थिर राख्न चुनौती देखिएको छ ।