सप्तरी, १३ असार । सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र २२ वर्षीय धर्मेन्द्र सिंह रहेका छन् । उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार प्रहरी चौकी बेल्हीबाट खटिएको टोलीले टिकुलिया–बेल्ही सडकखण्डमा बाँसको मचानमा बसेका उनीहरूलाई जाँच गरेको थियो ।

शरीर खानतलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘८ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिएर खरखजाना (हातहतियार तथा खरखजाना) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।