सिरहा, १२ असार । सिरहाको गोलबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ ।

१५औँ नगर अधिवेशनमा उपप्रमुख मानती कुमारी साहले चालुतर्फ ५६ करोड २१ लाख ८६ हजार रुपैयाँ र पुँजीगततर्फ १९ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको बजेट प्रस्तुत गरिन् ।

प्रस्तावित बजेटअनुसार संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण तथा सशर्त अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आम्दानी र गत आर्थिक वर्षको मौज्दात रकमबाट बजेट व्यवस्थापन गरिने जनाइएको छ ।

नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख श्यामकुमार श्रेष्ठले आगामी वर्षको बजेट शिक्षा, स्वास्थ्य र कृषिलाई केन्द्रमा राखेर तयार गरिएको बताए । नागरिकको आधारभूत आवश्यकतालाई सम्बोधन गर्दै गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र कृषिको आधुनिकीकरणलाई प्राथमिकता दिइएको उनको भनाइ थियो ।

नगर अधिवेशनका प्रमुख अतिथि तथा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले जनप्रतिनिधिले नीति तथा कार्यक्रम निर्माण गर्ने र त्यसको प्रभावकारी कार्यान्वयन कर्मचारीतन्त्रको जिम्मेवारी हुने बताए । उनले इमान्दार र उत्तरदायी ढंगले कार्यक्रम कार्यान्वयन गर्न कर्मचारीलाई आग्रह गर्दै प्रदेश सरकारको नयाँ बजेटले शिक्षा, धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकासमा समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री सिंहले प्रदेशका आठवटै जिल्लाका अंग्रेजी माध्यमबाट पठनपाठन गराउने पाँच–पाँच वटा विद्यालयलाई अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी पनि दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख दिलिप लामाले गोलबजारमा २४ घण्टा सञ्चालन हुने सरकारी अस्पतालको आवश्यकता औँल्याउँदै स्वास्थ्य पूर्वाधारमा लगानी बढाउन सुझाव दिए ।

नगरसभामा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ र शुद्ध खानेपानीलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आग्रह गरेका थिए । उनीहरूले वर्षेनी ठूलो बजेट खर्च भए पनि खानेपानी र सिँचाइ क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

नगरप्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत रुपनारायण खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नगर प्रवक्ता एवं वडा नं. ६ का अध्यक्ष सञ्जित लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।