बारा, १२ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु भएपछि स्थानीयवासीले नगरभित्रै सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न माग गरेका छन् ।

घटनापछि उपमहानगरपालिकाले पनि नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरणको पहल थालेको छ ।

उपमहानगरपालिका–१४ मौलापुरकी पाँच वर्षीया दियान्सी रानामगरको बिहीबार राति विषालु सर्पले डसेपछि मृत्यु भएको हो । परिवारका अनुसार घरअगाडि खेलिरहेको बेला राति करिब ८ बजे सर्पले टोकेको थियो । उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको थियो । उनी जीतपुरसिमरा–१४ स्थित साना किसान शिक्षा सदनमा एलकेजीमा अध्ययनरत थिइन् । उनको निधनप्रति शोक व्यक्त गर्दै जीतपुरसिमराका निजी विद्यालयहरूले शुक्रबार शोक बिदा दिएका थिए ।

यसअघि असार ८ गते उपमहानगरपालिका–१५ डुमरवानाकी चार वर्षीया सुप्रिना दोङको पनि सर्पदंशका कारण मृत्यु भएको थियो । लगातार दुई बालिकाको ज्यान गएपछि स्थानीयवासीमा चिन्ता बढेको छ ।

स्थानीयका अनुसार उपमहानगरभित्र सर्पदंश उपचार केन्द्र नहुँदा विषालु सर्पले टोकेका बिरामीलाई वीरगञ्ज वा हेटौँडा लैजानुपर्ने बाध्यता छ । उपचारका लागि लामो दूरी तय गर्नुपर्दा विशेषगरी बालबालिकाको ज्यान जोखिममा पर्ने गरेको उनीहरूको भनाइ छ ।

स्थानीयवासी विदुर खड्काले साना बालबालिकालाई सर्पले टोकेको जानकारी अभिभावकले समयमै नपाउने र अस्पताल पुग्न ढिलाइ हुँदा ज्यानै जाने अवस्था बारम्बार दोहोरिने गरेको बताए ।

घटनापछि नगरप्रमुख राजन पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्राचार गर्दै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक अनुमति, औषधि, प्राविधिक सहयोग र समन्वय उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

उपमहानगरले नगर अस्पतालमा सर्पदंश उपचार सेवा नहुँदा नागरिकबाट व्यापक गुनासो आएको उल्लेख गर्दै सेवा सञ्चालनका लागि आवश्यक मार्गदर्शन र सहजीकरण गरिदिन अनुरोध गरेको छ । यसअघि पनि २०८० पुस २० गते तत्कालीन नगरप्रमुख स्वर्गीय कृष्ण पौडेलको कार्यकालमा यस्तै मागसहित महाशाखालाई पत्र पठाइएको थियो ।

उपमहानगर स्वास्थ्य शाखा प्रमुख रवि भास्करले महाशाखाबाट एन्टिभेनम औषधि र सेवा सञ्चालनको स्वीकृति प्राप्त भए नगर अस्पतालबाट तत्काल सर्पदंश उपचार सेवा सुरु गर्न सकिने बताए । उनले सर्पदंशका कारण हुने वार्षिक मृत्युको एकीकृत तथ्यांक भने स्वास्थ्य शाखासँग नरहेको जानकारी दिए ।