आदिवासी जनजाति पत्रकारको क्षमता विकासमा जोड

बारा, १२ असार । आमसञ्चार प्राधिकरण मधेश प्रदेशको आयोजना तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको संयोजनामा आदिवासी जनजाति पत्रकारहरूको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम बाराको सिमरामा सम्पन्न भएको छ ।
कार्यक्रमका वक्ताहरूले आदिवासी जनजाति समुदायका पत्रकारलाई व्यावसायिक, तथ्यमा आधारित र उत्तरदायी पत्रकारिताका लागि थप दक्ष बनाउनु आजको आवश्यकता भएको बताएका छन् । उनीहरूले समावेशी सञ्चार माध्यम निर्माणका लागि आदिवासी जनजाति पत्रकारको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरीले लोकतान्त्रिक समाजमा स्वतन्त्र र जिम्मेवार पत्रकारिताको महत्त्व उल्लेख गर्दै आदिवासी जनजाति समुदायका आवाजलाई मूलधारका सञ्चारमाध्यमसम्म पुर्याउन यस्ता क्षमता अभिवृद्धिका कार्यक्रम प्रभावकारी हुने बताए । उनले सञ्चार क्षेत्रलाई थप समावेशी बनाउन प्रदेश सरकार सकारात्मक रहेको पनि उल्लेख गरे ।
फोनिजका केन्द्रीय अध्यक्ष लक्की चौधरीले आदिवासी जनजाति पत्रकारले आफ्नो समुदायका मुद्दा मात्र नभई समग्र समाजका सरोकारका विषयलाई व्यवसायिक ढंगले उठाउनुपर्ने बताए । उनले बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारले डिजिटल सीप, तथ्य परीक्षण र अनुसन्धानमूलक पत्रकारितामा पनि दक्षता हासिल गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष निमा लामाले आदिवासी जनजातिका भाषा, संस्कृति, पहिचान र अधिकारका सवाललाई सञ्चारमाध्यममार्फत सशक्त रूपमा उठाउन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले समुदायका वास्तविक मुद्दा राष्ट्रिय बहसको विषय बनाउन पत्रकारलाई जिम्मेवार भएर काम गर्न आग्रह गरिन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारितामा व्यवसायिकता, आचारसंहिता र विश्वसनीयतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै पत्रकारको क्षमता विकासले समग्र सञ्चार क्षेत्रको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट सहभागी आदिवासी जनजाति पत्रकारहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले यस्ता तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।


