महोत्तरीमा जग्गाको न्यूनतम मूल्य निर्धारण प्रक्रिया सुरु, नागरिकसँग सुझाव माग

महोत्तरी, ११ असार । महोत्तरी जिल्लामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि जग्गाको न्यूनतम मूल्य निर्धारण गर्ने प्रक्रिया सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक सूचना जारी गर्दै सरोकारवाला निकाय, स्थानीय तह तथा सर्वसाधारण नागरिकसँग राय, सुझाव र आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
मालपोत नियमावली, २०३६ को नियम ५(ख) बमोजिम जिल्लाका भूमि प्रशासन कार्यालयहरूमा रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि न्यूनतम मूल्य निर्धारण समितिले जग्गाको मूल्य पुनरावलोकन गर्ने कार्य अघि बढाएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जग्गाको न्यूनतम मूल्यलाई यथार्थपरक, वस्तुगत, समयसापेक्ष तथा व्यवहारिक बनाउने उद्देश्यले सम्बन्धित पक्षबाट सुझाव संकलन गर्न लागिएको हो । प्राप्त सुझाव तथा विवरणलाई अध्ययन र विश्लेषण गरी प्रचलित कानुनअनुसार मूल्य निर्धारण प्रक्रियामा समावेश गरिने जनाइएको छ ।
कार्यालयले सम्बन्धित स्थानीय तहहरूमार्फत आगामी असार २२ गतेभित्र राय, सुझाव तथा आवश्यक विवरण पठाउन अनुरोध गरेको छ । यस प्रक्रियाले जिल्लाभित्रको जग्गा कारोबारलाई थप पारदर्शी र वास्तविक बजार मूल्यसँग नजिक बनाउने विश्वास गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले भूमि कारोबारसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति, व्यवसायी, स्थानीय जनप्रतिनिधि तथा नागरिकलाई सहभागिता जनाउन आग्रह गरेको छ ।


