पर्सा, ११ असार । बढ्दो गर्मी र अत्यधिक तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिनका लागि बिदा घोषणा गरेको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै असार ११ गतेदेखि लागू हुने गरी बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको हो । उक्त बिदा वार्षिक वर्षे बिदाबाट कट्टा हुने जनाइएको छ ।

महानगरपालिकाका अनुसार पछिल्ला दिनहरूमा तापक्रम निरन्तर बढ्दै गएको र त्यसले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने जोखिम बढेकाले यो निर्णय गरिएको हो । तराई–मधेशका विभिन्न जिल्लामा अत्यधिक गर्मीका कारण जनजीवनसमेत प्रभावित बन्दै गएको छ ।

यसैबीच, मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

बैठकले धार्मिक सद्भाव, सामाजिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्दै पर्व मनाउन नौ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार र्‍याली तथा शोभायात्रा प्रशासनले तोकेको रुट, मिति र समयअनुसार मात्रै सञ्चालन गर्नुपर्नेछ । हातहतियार तथा उच्च ध्वनियुक्त उपकरणको प्रयोग निषेध गरिएको छ भने अन्य धार्मिक समुदायको भावना आहत हुने गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।

त्यस्तै, प्रत्येक र्‍याली वा झाँकीका जिम्मेवार व्यक्तिले आफ्नो विवरण कम्तीमा एक दिनअघि प्रशासनमा बुझाउनुपर्ने, धार्मिक तथा सामाजिक सद्भावमा असर पर्ने सामग्री प्रयोग गर्न नपाइने तथा सामाजिक सञ्जालमार्फत भ्रम, वैमनस्यता वा उत्तेजना फैलाउने सामग्री प्रचारप्रसार नगर्नुपर्ने व्यवस्था गरिएको छ ।

पर्व अवधिभर सुरक्षा व्यवस्थापन र समन्वयलाई प्रभावकारी बनाउन मुस्लिम समुदायका तर्फबाट महबुब अली (शेरु आलम) र हिन्दु समुदायका तर्फबाट रञ्जीत शाहलाई सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले मोहरम पर्व सम्बन्धी आधिकारिक पत्र प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर अन्तिम रुट निर्धारण तथा विस्तृत सुरक्षा योजना सार्वजनिक गरिने जानकारी दिए ।