जनकपुरधाम, १० असार । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई सवार हुने सरकारी गाडीमा तोडफोड भएको घटनापछि सुरक्षा निकायले अनुसन्धान तीव्र बनाएको छ ।

बुधबार बिहान जनकपुरधामस्थित मधेश भवन परिसरमा पार्किङ गरेर राखिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेको हो ।

घटनाका क्रममा गाडीमा राखिएको राष्ट्रिय झण्डा भाँचेर फालिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार बिहान करिब ११ बजेतिर एक व्यक्ति स्कारपिओ गाडीबाट ओर्लिएर मन्त्रीको गाडी नजिक पुगेका थिए ।

सीसीटीभी फुटेजमा ती व्यक्तिले गाडी वरिपरि केही समय निरीक्षण गरेपछि झण्डा भाँचेर भुइँमा फालेको देखिएको छ ।

प्रहरीका अनुसार कानमा मोबाइल फोन लगाएका ती व्यक्ति त्यसपछि मधेश भवन परिसरभित्र प्रवेश गरेका थिए । उनी करिब चार–पाँच मिनेटसम्म परिसरभित्र रहेको फुटेजमा देखिएको छ ।

घटनाको प्रकृति र व्यक्तिको गतिविधिलाई हेर्दा योजनाबद्ध रूपमा आएको हुन सक्ने प्रारम्भिक अनुमान अनुसन्धानकर्ताहरूले गरेका छन् ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर विस्तृत अनुसन्धान गरेको थियो । यद्यपि, मधेश भवन आसपासका केही सीसीटीभी क्यामेरा बिग्रिएको अवस्थामा रहेकाले संदिग्ध व्यक्ति चढेर आएको गाडीको नम्बर तथा थप विवरण पहिचान गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अगाडि बढाएको तथा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको जनाएको छ ।