छठ पूजा समितिको नवनिर्मित मन्दिरमा प्राण प्रतिष्ठा

जनकपुरधाम, १० असार । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गंगासागर छठ पूजा समितिको कार्यालय भवनसँगै निर्माण गरिएको मन्दिरमा बुधबार भगवान् सूर्यनारायण, छठी माता र हनुमानजीको मूर्तिको विधिवत् प्राण प्रतिष्ठा गरिएको छ ।
धार्मिक विधिअनुसार सम्पन्न पूजापछि भोग तथा प्रसाद वितरणसमेत गरिएको हो ।
मन्दिरको उद्घाटन जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले गरेका हुन् ।
उद्घाटनसँगै सम्पन्न भएको प्राण प्रतिष्ठा कार्यक्रमलाई स्थानीय धार्मिक आस्थाको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ ।
उक्त मन्दिर निर्माण कार्य सतीश लाल दास र अशोक लाल दासको कार्यकालमा सुरु भई हाल सम्पन्न गरिएको समितिले जनाएको छ ।
भवनको तल्लो तथा माथिल्लो तल्ला निर्माणमा वेलकम टेन्ट हाउसका सञ्चालक संजय कुमार मण्डल प्रमुख दाताका रूपमा सहयोग पुर्याएका छन् । त्यसैगरी मूर्तिहरूको दान राजेश गुप्ताले गरेका हुन् ।
अन्य सहयोगी दाताहरूले टाइल्स, मार्बल, रंगरोगन तथा विद्युत् जडानलगायतका निर्माण सामग्री तथा सेवामा योगदान दिएका छन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले मन्दिर निर्माण तथा मूर्ति प्राण प्रतिष्ठाले धार्मिक आस्था र सामाजिक एकतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
सो अवसरमा गंगासागर छठ पूजा समितिका सह-सचिव सोनु निधिलाई सम्मानसमेत गरिएको थियो ।










