पर्सा, १० असार । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न नगरसभामा महानगरको वार्षिक बजेट प्रस्तुत गरिएको हो ।

महानगर प्रमुख राजेशमान सिंह भ्रष्टाचारसम्बन्धी मुद्दामा निलम्बनमा परेपछि उपप्रमुख इम्तियाज आलम कार्यवाहक प्रमुखको जिम्मेवारीमा छन् । सोही कारण यसपटकको बजेट वडा नम्बर ४ का अध्यक्ष जगतप्रसाद कानुले नगरसभामा प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चका लागि १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ छुट्याइएको छ । महानगरले विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक सञ्चालनलाई प्राथमिकतामा राखेर बजेट तयार गरेको जनाएको छ ।

बजेटका लागि विभिन्न स्रोतबाट आम्दानी जुटाइने उल्लेख गरिएको छ । सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, राजस्व बाँडफाँडबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ लाख २८ हजार तथा प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ७६ लाख १४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

त्यसैगरी घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, गत आर्थिक वर्षको मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ जुटाइने बजेटमा उल्लेख गरिएको छ ।

महानगरले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, शहरी व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गर्ने जनाएको छ ।