रौतहट, १० असार । रौतहटको गरुडा नगरपालिका–४ बाट चोरी भएको मोटरसाइकल प्रहरीले घटनाको करिब ३० मिनेटभित्रै बरामद गर्दै चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ का २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय रामनारायण यादव रहेका छन् । उनीहरूलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ६ः३० बजे गरुडा नगरपालिका–४ स्थित एक घर अगाडि पार्किङ गरेर राखिएको बा.प्र.०२–०४१ प ३८४९ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएको जानकारी प्राप्त हुनासाथ प्रहरीले खोजी अभियान सुरु गरेको थियो ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यका अनुसार धर्मपुर प्रहरी चौकीबाट खटिएको टोलीले गढीमाई नगरपालिका–६ को धर्मपुर क्षेत्रबाट बाहिरिने मुख्य पुलमा निगरानी बढाएको थियो । सोही क्रममा साँझ ७ बजेतिर चेकजाँच गर्दा चोरी भएको मोटरसाइकलसहित दुवै युवकलाई पक्राउ गर्न सफलता मिलेको उनले बताए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले समयमै सूचना प्राप्त भएकाले चोरी भएको सवारी साधन छिट्टै बरामद गर्न र संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सम्भव भएको जनाएको छ ।