जनकपुरधाम, १० असार । देशका तराई जिल्लामा तापक्रम निरन्तर बढ्दै गएपछि जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार आगामी केही दिन तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाको प्रभाव रहने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी तीन दिनसम्म विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा (लु) चल्ने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका केही भूभागमा पनि तापक्रम बढ्ने अनुमान गरिएको उनले बताए ।

विभागले सार्वजनिक गरेको पूर्वानुमानअनुसार धनगढीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्नेछ भने नेपालगञ्ज र भैरहवामा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको छ । वीरेन्द्रनगर र घोराहीमा समेत गर्मीको प्रभाव बढ्ने अनुमान गरिएको छ ।

बढ्दो तापक्रमका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विभागले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुतीका कपडा प्रयोग गर्न र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिइएको छ ।

विज्ञहरूले अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, टाउको दुख्ने, थकान, चक्कर आउने तथा ‘हिट स्ट्रोक’ जस्ता स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् ।