जनकपुरधाम, १० असार । मोहर्रम पर्वलाई धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र कानुनी मर्यादाभित्र रही शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गर्न हिन्दु तथा मुस्लिम समुदायका अगुवाहरूबीच बुधबार सद्भाव तथा समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकले मोहर्रमअन्तर्गत सञ्चालन हुने ताजिया जुलुस, धार्मिक कार्यक्रम तथा अन्य गतिविधिहरूलाई सामाजिक सद्भाव कायम राख्दै मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । सहभागीहरूले विभिन्न धार्मिक समुदायबीच आपसी सम्मान, सहिष्णुता र सामाजिक एकतालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा ताजिया जुलुसको मिति, समय, मार्ग र कार्यक्रम स्थल सम्बन्धित स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी निर्धारण गर्ने सहमति भएको छ । साथै, जुलुसका क्रममा सार्वजनिक शान्ति, सुरक्षा तथा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक सुरक्षाकर्मी परिचालन गरिने निर्णय गरिएको छ ।

सहभागीहरूले जुलुसका क्रममा कुनै पनि प्रकारका भड्काउ, उत्तेजनात्मक वा साम्प्रदायिक सद्भावमा असर पुग्ने गतिविधि नगर्ने तथा धार्मिक भावनामा चोट पुग्ने सामग्री वा नाराको प्रयोग रोक्ने प्रतिबद्धता जनाएका छन् । ध्वनि प्रदूषण नियन्त्रणसम्बन्धी कानुन तथा स्थानीय तहले तोकेका मापदण्डको पालना गर्न समेत सहमति भएको छ ।

बैठकले जुलुसका कारण सडक अवरोध न्यून हुने गरी व्यवस्थापन गर्ने, आवश्यक परे वैकल्पिक यातायातको व्यवस्था मिलाउने तथा ताजिया विसर्जनपछि सरसफाइ, वातावरणीय व्यवस्थापन र सार्वजनिक सम्पत्तिको सुरक्षाको जिम्मेवारी आयोजक समितिले वहन गर्ने निर्णय गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

त्यसैगरी सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अफवाह फैलाउने वा साम्प्रदायिक सद्भावमा असर पार्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्ने र त्यस्तो कार्य गरेको पाइए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

बैठकले कुनै अप्रिय घटना हुन नदिन सबै सरोकारवालाले आपसी समन्वय, सहकार्य र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने तथा कुनै विवाद वा अप्रिय अवस्था सिर्जना भए तत्काल जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई जानकारी गराउने निर्णय गरेको छ ।

धार्मिक तथा सामुदायिक अगुवाहरूले समाजमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै पर्वका बेला आवश्यक परे एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा उद्धार सामग्री तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइने जनाइएको छ ।

बैठकमा भएका निर्णयहरू सम्बन्धित निकायहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।