जनकपुरधाम, १० असार । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले वन तथा वातावरण मन्त्रालय तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशका तीनवटा निर्णय र कार्यशैलीप्रति आपत्ति जनाउँदै वन तथा वातावरणमन्त्री शंकर प्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।

अभियानका राष्ट्रिय संयोजक सुनिल यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा मन्त्रालय र मुख्यमन्त्री कार्यालयको निर्णयअनुसार रौतहट डिभिजन वन कार्यालयका प्रमुख हेमन्त प्रसाद साहलाई सरुवा गरी हाजिर हुन निर्देशन दिइएको लामो समय बितिसक्दा पनि कार्यान्वयन नभएको उल्लेख गरिएको छ । यसले सरकारी निर्णयहरू प्रभावहीन बन्दै गएको सन्देश दिएको अभियानको भनाइ छ ।

ज्ञापनपत्रमा रौतहट वन क्षेत्रसँग सम्बन्धित विभिन्न अनियमितता तथा घटनाको छानबिन गर्न गठित समितिहरूले प्रतिवेदन बुझाइसकेको भए पनि ती प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन नगरिनु शंकास्पद देखिएको उल्लेख छ । अभियानले छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेको छ ।

त्यसैगरी, महोत्तरीको बर्दिवास–कालापानी क्षेत्रमा वन अतिक्रमण नियन्त्रणका क्रममा वन कर्मचारी श्वेता झा, सुमन श्रेष्ठसहित सात जना कर्मचारीलाई ६–७ घण्टासम्म बन्धक बनाइएको तथा सरकारी गाडीमा आगजनी गरिएको घटनाका दोषीहरू अझै कानुनी दायरामा नआएको भन्दै अभियानले मन्त्रालयको भूमिकामाथि प्रश्न उठाएको छ । आफ्नै मातहतका कर्मचारीमाथि भएको घटनामा मन्त्रालय मौन बसेको आरोप पनि ज्ञापनपत्रमा लगाइएको छ ।

अभियानले तत्काल सरुवा आदेश कार्यान्वयन गरी रौतहटमा नयाँ डिभिजनल वन अधिकृत खटाउन, रौतहट वन क्षेत्रसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न तथा बर्दिवास–कालापानी घटनाका दोषीहरूलाई कानुनी कारबाही गरी पीडित कर्मचारीलाई न्याय दिलाउन माग गरेको छ ।

मागहरू यथाशीघ्र सम्बोधन नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी अभियानले दिएको छ ।