‘फ्याकल्टी इग्नाइट–२०२६’ मार्फत शिक्षकहरूलाई नयाँ ऊर्जा

जनकपुरधाम, ०८ असार । नयाँ शैक्षिक सत्रको तयारीलाई प्रभावकारी बनाउने उद्देश्यले जनकपुरधामस्थित मोनास्टिक स्कुल/कलेजले कक्षा ११ र १२ का विज्ञान तथा कम्प्युटर विज्ञान संकायका शिक्षक तथा कर्मचारीका लागि ‘मोनास्टिक फ्याकल्टी इग्नाइट–२०२६’ को दोस्रो दिनको कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विज्ञान र कम्प्युटर विज्ञान संकायसँग आबद्ध करिब ५० जना शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो । एकदिने उक्त कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धि, आपसी समन्वय, सामूहिक कार्यसंस्कृतिको विकास तथा विद्यार्थीको समग्र सफलताप्रति साझा प्रतिबद्धतालाई थप सुदृढ बनाउने विषयमा छलफल गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममार्फत शिक्षकहरूबीच अनुभव आदानप्रदान, संस्थागत लक्ष्यप्रति एकरूपता तथा आगामी शैक्षिक सत्रलाई थप उपलब्धिमूलक बनाउने रणनीतिबारे समेत विचारविमर्श गरिएको थियो । सहभागी शिक्षकहरूले नवीन सोच, सिर्जनशीलता र अनुसन्धानमुखी शिक्षण पद्धतिलाई प्राथमिकतामा राख्दै विद्यार्थीको क्षमता विकासमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मोनास्टिक स्कुल/कलेजका निर्देशक डा. सोनु साहले गुणस्तरीय शिक्षा प्रदान गर्न दक्ष, प्रेरित र प्रतिबद्ध शिक्षकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धिसँगै संस्थागत लक्ष्य प्राप्तिमा समेत सहयोग पुग्ने बताए ।
‘शिक्षकहरू पाठ पढाउने माध्यम मात्र नभई उनीहरू भविष्य निर्माण गर्ने अभियन्ता हुन्,’ डा. साहले भने, ‘विज्ञान र प्रविधिको क्षेत्रमा सक्षम, सिर्जनशील र जिम्मेवार जनशक्ति उत्पादन गर्नु हाम्रो प्रमुख उद्देश्य हो । त्यसका लागि शिक्षकहरूबीच सहकार्य, नवीन सोच र निरन्तर सिकाइको संस्कृतिलाई प्रवर्द्धन गर्न आवश्यक छ ।’
उनले आगामी दिनमा पनि शिक्षकहरूको क्षमता अभिवृद्धि तथा शैक्षिक उत्कृष्टतालाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
नयाँ उत्साह र साझा उद्देश्यका साथ मोनास्टिक स्कुल/कलेजका शिक्षकहरू आगामी शैक्षिक सत्रमा विद्यार्थीहरूमा जिज्ञासा, अनुसन्धान र नवप्रवर्तनको भावना विकास गराउँदै भविष्यका वैज्ञानिक तथा प्रविधि क्षेत्रका नेतृत्वकर्ता तयार पार्न प्रतिबद्ध रहेको विद्यालयले जनाएको छ ।






