सिरहामा लागुऔषध कारोबारीमाथि प्रहरीको गोली, दुई भारतीय नागरिक पक्राउ

सिरहा, ०८ असार । सिरहा प्रहरीले लागुऔषध नियन्त्रण अभियानअन्तर्गत कारबाही गर्दै गोली प्रहारपछि दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये एक जना लागुऔषध कारोबारी प्रहरीको गोली लागेर घाइते भएका छन् भने घटनाका क्रममा एक प्रहरी जवानसमेत घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार भारतको बिहार राज्य, मधुवनी जिल्ला अन्तर्गत पौदमहा ग्रामपञ्चायत–२ जोगियाका छोटु भनिने रञ्जित कुमार पासवान र एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरूको साथबाट प्लास्टिकसहित १०१ ग्राम ६ मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारतीय सीमासँग जोडिएको सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । त्यसक्रममा चार–पाँच जनाको समूहमा रहेका लागुऔषध कारोबारीहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेका थिए ।
एसपी पाठकका अनुसार प्रारम्भिक चरणमा अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । त्यसपछि पनि उनीहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरिएको थियो । गोली लागेर घाइते भएका रञ्जित कुमार पासवानको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाका क्रममा प्रहरी जवान हृदयनारायण ठाकुर पनि घाइते भएका छन् । उनको पनि उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका पासवानले हालसम्म नेपालमा करिब १० देखि १२ किलोग्रामसम्म ब्राउनसुगर आपूर्ति गरेको खुलेको एसपी पाठकले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा लागुऔषध सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबार नियन्त्रणका लागि सुरक्षा निगरानी थप कडा पारिएको जनाउँदै प्रहरीले अवैध गतिविधिविरुद्ध अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।

