बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

रौतहट, ०८ असार । रौतहटको दुर्गाभगवती गाउँपालिका क्षेत्रमा बागमती नदीमा एक्कासि आएको बाढीका कारण टापुमा फसेका १४ जना स्थानीयवासीलाई सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।
आइतबार अपराह्न करिब पौने ४ बजेतिर दुर्गाभगवती गाउँपालिका–३ स्थित मत्सरीघाट नजिक बागमती नदीपारिबाट मुंगको दाल संकलन गरेर फर्किने क्रममा ११ महिला र तीन बालिका नदीको बीचभागमा रहेको टापुमा अलपत्र परेका थिए । नदीमा अचानक पानीको बहाव बढेपछि उनीहरू सुरक्षित रूपमा किनारामा फर्किन नसकी जोखिममा परेका थिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर र मातहतका इकाइबाट सहायक निरीक्षक यज्ञबहादुर योञ्जनको नेतृत्वमा विपद् व्यवस्थापन टोली परिचालन गरिएको थियो । उद्धारका लागि १७ जना सुरक्षाकर्मी र रबर बोट प्रयोग गरिएको थियो ।
सशस्त्र प्रहरीको टोलीले करिब एक घण्टाको प्रयासपछि अपराह्न ५ बजेतिर सबैलाई सुरक्षित रूपमा नदीबाट बाहिर निकालेर घर फर्काएको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले जानकारी दिए ।
मनसुन सक्रिय भएसँगै नदी तथा खोलामा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले सशस्त्र प्रहरीले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विशेषगरी वर्षायाममा नदी तथा खोलामा आवतजावत गर्दा मौसम र पानीको बहावको अवस्थाबारे जानकारी लिएर मात्र जोखिमयुक्त क्षेत्रमा जानुपर्ने सुरक्षाकर्मीहरूको सुझाव छ ।
स्थानीयवासीको समयमै उद्धार भएकाले सम्भावित मानवीय क्षति टरेको छ । बाढी तथा डुबानको जोखिम बढ्दै गएसँगै रौतहटसहित तराईका जिल्लामा सुरक्षा निकायले उच्च सतर्कता अपनाएका छन् ।

