जनकपुरधाम, ०८ असार । महोत्तरी र धनुषाका आँप उत्पादक किसानलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादनको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आयोजित तीनदिने तेस्रो आँप मेला महोत्सव आइतबार सम्पन्न भएको छ ।

महोत्सवमा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको तथा ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ ।

शुक्रबारदेखि सुरु भएको महोत्सवमा महोत्तरी र धनुषाका किसान, व्यापारी, होटल तथा पर्यटन व्यवसायी, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवसहित मन्त्री, प्रदेशसभा सदस्य तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधिले समेत महोत्सवको अवलोकन गरेका थिए ।

महोत्सवले स्थानीय उत्पादनलाई नयाँ बजारसँग जोड्ने वातावरण सिर्जना गरेको भन्दै सहभागी किसानहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । बर्दिबास नगरपालिका–६ का किसान पर्शुराम ठाकुरले प्रदेश सरकारले यस वर्ष विशेष चासो देखाएकाले किसानका समस्या समाधान हुने आशा बढेको बताए ।

महोत्सवमा विभिन्न स्थानबाट आएका व्यापारीहरूले आँप खरिदमा चासो देखाएका छन् । चित्रपुरका व्यापारी रामबहादुर महतोले आफ्नो स्टलबाट मात्र करिब १०० क्विन्टल आँप बिक्री भएको जानकारी दिँदै यसपटक बाहिरी जिल्लाका साथै भारतसम्मका व्यापारीहरू चित्रपुरमै आएर आँप खरिद गर्न इच्छुक देखिएको बताए ।

आँप उत्पादनका लागि महोत्तरीका बर्दिबास र भंगहा तथा धनुषाका मिथिला नगरपालिका र बटेश्वर गाउँपालिका प्रमुख क्षेत्र मानिन्छन् । यी चारवटै स्थानीय तहका किसानलाई केन्द्रमा राखेर आयोजना गरिएको महोत्सवमा विभिन्न जातका आँपको प्रदर्शनी, बिक्री तथा व्यापारिक सम्पर्क विस्तारका कार्यक्रम सञ्चालन गरिएको थियो ।

आयोजक संस्था ‘चित्रपुर म्याङ्गो एग्रो टुरिज्म इनिसिएटिभ’का अध्यक्ष प्रदीप महतोले मुख्यमन्त्री तथा प्रदेश सरकारका प्रतिनिधिहरूबाट आँप प्रशोधन उद्योग, चिस्यानघर निर्माण र बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको बताए । राज्यको साथ पाए बगैंचामा आधारित व्यवसायबाट किसानले राम्रो आम्दानी गर्न सक्ने उनको भनाइ छ ।

चित्रपुर क्षेत्रमा मात्रै करिब एक हजार बिघा क्षेत्रफलमा आँप बगैंचा रहेको छ भने बटेश्वर गाउँपालिका क्षेत्रमा दुई हजार बिघाभन्दा बढी क्षेत्रमा आँप खेती हुने गरेको छ । छिमेकी बर्दिबास, भंगहा र मिथिला नगरपालिकासहित यस क्षेत्रको कुल बगैंचा क्षेत्रफल करिब पाँच हजार बिघा रहेको बताइएको छ ।

किसानहरूका अनुसार जेठको तेस्रो सातादेखि सुरु हुने आँपको मौसम भदौको अन्तिमसम्म रहने गर्दछ । बम्बै, दशहरी, मालदह, आम्रपाली, मल्लिका, स्वर्णरेखा, गुलाबखास, लालमोहनलगायतका विभिन्न जातका आँप यहाँ उत्पादन हुने गरेका छन् ।

भंगाहा–४ का किसान हरिदेव साहले उत्पादनसँगै भण्डारण र प्रशोधनको सुविधा आवश्यक रहेको उल्लेख गर्दै चिस्यानघर तथा उद्योग स्थापना भए वर्षभरि बजार व्यवस्थापन गर्न सहज हुने बताए । उनले प्रदेश सरकारको पछिल्लो प्रतिबद्धताले किसानमा नयाँ आशा पलाएको बताए ।

महोत्सवका क्रममा पाकेका र काँचो आँपका साथै विभिन्न प्रकारका अचार तथा परिकारको प्रदर्शनी र बिक्री गरिएको थियो । आगन्तुकलाई विभिन्न जातका आँप चखाउने व्यवस्था गरिएको थियो । सहभागीहरूले यस क्षेत्रका आँपको स्वाद विशिष्ट र मौलिक रहेको प्रतिक्रिया दिएका थिए ।

आयोजक संस्थाका फुलगेन मगहीले आँपको बजारीकरण मात्र नभई स्थानीय उत्पादनको विशेषता उपभोक्तासमक्ष परिचित गराउनु पनि महोत्सवको मुख्य उद्देश्य रहेको बताए । महोत्सवमार्फत चित्रपुर क्षेत्रलाई ‘आँप पर्यटन’को गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको उनको भनाइ छ ।

वि.सं. २०८१ देखि सुरु भएको चित्रपुर आँप महोत्सव पहिलो वर्ष एक दिन, दोस्रो वर्ष दुई दिन र यस वर्ष तीन दिनसम्म सञ्चालन गरिएको थियो । स्थानीय जनप्रतिनिधिहरूले महोत्सवले किसानलाई उत्साहित बनाउनुका साथै आँप खेतीको विस्तार र यस क्षेत्रको पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।