जनकपुरधाम, ०८ असार । गहुँ उत्पादनका लागि देशकै उर्वर र प्रमुख क्षेत्र मानिने मधेश प्रदेशमा चालु आर्थिक वर्षमा गहुँ उत्पादनमा उल्लेखनीय गिरावट आएको छ ।

प्रतिकूल मौसम, समयमा पर्याप्त सिँचाइको अभाव, गुणस्तरीय बीउबिजनको कमी तथा रोगकीराको प्रकोपका कारण किसानले अपेक्षित उत्पादन प्राप्त गर्न नसकेको कृषि अधिकारीहरूले बताएका छन् ।

मधेश प्रदेश कृषि निर्देशनालय, नक्टाझिज (धनुषा) का अनुसार यस वर्ष प्रदेशभर तीन लाख ७३२ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा प्रतिहेक्टर औसत १.८ मेट्रिक टनका दरले कुल पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

अघिल्लो वर्ष भने एक लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३.३७ मेट्रिक टनका दरले सात लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य कमी आएको देखिएको छ । कृषि क्षेत्रका जानकारहरूले यसलाई जलवायु परिवर्तनको प्रभावसँगै कृषि पूर्वाधारको कमजोरीसँग जोडेर हेरेका छन् ।

यस वर्ष मधेश प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी गहुँ उत्पादन धनुषामा भएको छ । धनुषामा ३३ हजार ५०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.९४ मेट्रिक टनका दरले ९८ हजार ४९० मेट्रिक टन गहुँ उत्पादन भएको मधेश प्रदेश कृषि निर्देशनालयका बागबानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार सप्तरीमा २९ हजार ४०० हेक्टरमा ८२ हजार ३२० मेट्रिक टन, महोत्तरीमा २७ हजार हेक्टरमा ७२ हजार ८०० मेट्रिक टन तथा बारामा २९ हजार हेक्टर क्षेत्रफलबाट ७१ हजार ९२० मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

त्यस्तै, सर्लाहीमा ६९ हजार ५९६ मेट्रिक टन, पर्सामा ५९ हजार ८५२ मेट्रिक टन तथा रौतहटमा ५२ हजार ७४१ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।सबैभन्दा कम उत्पादन सिरहा जिल्लामा भएको छ । सिरहामा १४ हजार १७६.४८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर २.५१ मेट्रिक टनका दरले ३५ हजार ४४१ मेट्रिक टन मात्र गहुँ उत्पादन भएको तथ्यांकले देखाएको छ ।

मधेश प्रदेश कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादवले समयमा सिँचाइ सुविधा उपलब्ध हुन नसक्नु, उन्नत बीउको अभाव तथा मौसमले साथ नदिनु उत्पादन घट्नुको मुख्य कारण रहेको बताए । उनले किसानलाई आधुनिक प्रविधि, गुणस्तरीय बीउबिजन र प्रभावकारी सिँचाइ प्रणाली उपलब्ध गराउन सके आगामी वर्ष उत्पादन वृद्धि गर्न सकिने विश्वास व्यक्त गरे ।

कृषि प्रधान मानिने मधेश प्रदेशमा गहुँ उत्पादनमा आएको यो गिरावटले प्रदेशको खाद्य सुरक्षासँगै किसानको आम्दानीमा समेत असर पार्ने चिन्ता बढाएको छ । कृषि क्षेत्रको दीर्घकालीन विकासका लागि समयमै आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।