सर्लाही, ०७ असार । सर्लाहीमा भैंसी गोठमा सुतिरहेका एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

बसबरिया गाउँपालिका–१ मानपुरका ५२ वर्षीय होशनारायण राय यादवको शनिबार मध्यराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार यादव आफ्नै भैंसी गोठमा सुतिरहेका बेला राति करिब १२ बजे अपरिचित समूहले उनको घाँटीमा धारिलो हतियार प्रहार गरेको थियो ।

आक्रमणपछि गम्भीर घाइते भएका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल लैजाने प्रयास गरेका थिए । तर, बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीका अनुसार घटनाबारे अनुसन्धान अघि बढाइएको छ र दोषीको खोजी कार्य तीव्र पारिएको छ ।

मृतकका जेठा छोरा सुवासकुमारले आफ्नो बुबा सरल र शान्त स्वभावका व्यक्ति भएको बताउँदै कसैसँग कुनै प्रकारको विवाद नरहेको जानकारी दिए । उनले हत्याको कारणबारे आफूहरू पनि अन्योलमा रहेको बताए ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी छिट्टै पक्राउ गर्ने प्रयास भइरहेको जनाएको छ ।