जनकपुरधाम, ०५ असार । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीस्थित अस्थायी डाइभर्सन आज बिहानदेखि पूर्ण रूपमा बन्द भएको छ ।

गएरातिको वर्षापछि डाइभर्सनको ठूलो भाग थप भासिएपछि बिहानदेखि सवारीसाधनको आवागमन ठप्प भएको हो ।

सिरहाको बसबिट्टा क्षेत्रतर्फ निर्माण गरिएको करिब एक करोड २५ लाख रुपैयाँ लागतको तारजाली र माटोयुक्त अस्थायी डाइभर्सन केही महिनाअघि मात्रै सञ्चालनमा ल्याइएको थियो । तर, निरन्तरको वर्षा र कमला नदीको बहाव बढेसँगै संरचना कमजोर भई आज बिहानदेखि पूर्ण रूपमा प्रयोगविहीन बनेको स्थानीयले बताएका छन् ।

स्थानीयवासीका अनुसार बिहानैदेखि सवारीसाधन डाइभर्सन पार गर्न नसक्ने भएपछि सिरहा–धनुषा आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।

केही मोटरसाइकल चालकले जोखिम मोलेर आवतजावत गर्ने प्रयास गरे पनि पछि रोकिएको छ भने सर्वसाधारण डुङ्गाको भरमा नदी पार गर्न बाध्य भएका छन् ।

सिरहा नगरपालिका–५ स्थित बसबिट्टा घाटमा अहिले डुङ्गामार्फत यात्रु ओसारपसार भइरहेको छ । वडाध्यक्ष इन्द्रजित यादवका अनुसार यात्रुहरूले नदी पार गर्न प्रतिव्यक्ति १५० रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको छ ।

यसैबीच, कमला नदीमाथि निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र अवस्थामा छ ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त पुलको ठेक्का २०६८ सालमै सम्झौता भए पनि पटकपटक म्याद थपिँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । बाढी र प्राविधिक समस्याका कारण पटकपटक क्षति पुगेपछि परियोजना अझै अधुरै रहेको छ ।

स्थानीयवासीहरूले वर्षेनी दोहोरिने यातायात अवरोध अन्त्य गर्न दीर्घकालीन समाधानस्वरूप पुल निर्माणलाई शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।