जनकपुरधाम, ०७ असार । जनकपुरधामस्थित मोनास्टिक कलेजले नयाँ शैक्षिक सत्रको तयारीस्वरूप ‘मोनास्टिक फ्याकल्टी इग्नाइट २०२६’ कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममार्फत शिक्षक तथा कर्मचारीहरूलाई संस्थागत लक्ष्य, व्यावसायिक विकास र गुणस्तरीय शिक्षाप्रतिको साझा प्रतिबद्धताबारे उत्प्रेरित गरेको हो ।

कार्यक्रमको पहिलो दिन व्यवस्थापन, कानुन तथा शिक्षा संकायका करिब ७० जना शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धि, समन्वयात्मक कार्यसंस्कृति, नेतृत्व विकास तथा विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिका विषयमा छलफल गरिएको कलेजले जनाएको छ ।

मोनास्टिकका निर्देशक डा. सोनु साहले बदलिँदो शैक्षिक परिवेशमा शिक्षकहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै संस्थाको सफलता शिक्षक र कर्मचारीहरूको समर्पणमा निर्भर रहने बताए ।

उनले भने, ‘शिक्षा पाठ्यपुस्तकमा सीमित विषय मात्र होइन, यो भविष्य निर्माण गर्ने माध्यम हो । त्यसैले शिक्षकहरूले ज्ञानसँगै प्रेरणा, अनुशासन र नेतृत्व क्षमता पनि विद्यार्थीमा विकास गर्नुपर्छ ।’

निर्देशक साहले ‘फ्याकल्टी इग्नाइट २०२६’ कार्यक्रमले शिक्षक तथा कर्मचारीबीच सहकार्य, अनुभव आदानप्रदान र संस्थागत लक्ष्यप्रति एकरूपता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले आगामी शैक्षिक सत्रलाई थप उपलब्धिमूलक र परिणाममुखी बनाउन सबैले साझा जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी शिक्षक तथा कर्मचारीहरूले पनि नयाँ शैक्षिक सत्रका लागि आवश्यक रणनीति, चुनौती र अवसरबारे विचार आदानप्रदान गरेका थिए ।

संस्थाले यस्ता कार्यक्रममार्फत शैक्षिक उत्कृष्टता हासिल गर्ने तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

कार्यक्रमको दोस्रो दिन विज्ञान संकायका शिक्षक तथा कर्मचारीहरूको सहभागितामा विभिन्न विषयगत सत्र सञ्चालन गरिने कलेजले जनाएको छ ।

मोनास्टिक कलेजले ‘साथमा सिकौँ, साथमा बढौँ’ भन्ने भावनाका साथ शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्दै आगामी पुस्ताका दक्ष, जिम्मेवार र सक्षम नागरिक निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।