विद्यालय जान निस्किएका बालक एक महिनादेखि सम्पर्कविहीन, प्रहरीको खोजी जारी

महोत्तरी, ०६ असार । महोत्तरीको सदरमुकाम जलेश्वरबाट एक महिनाअघि बेपत्ता भएका १२ वर्षीय बालक गौतम यादवको अवस्था अझै अज्ञात रहेको छ । लामो समय बितिसक्दा पनि बालक फेला नपरेपछि परिवार र स्थानीयवासी चिन्तित बनेका हुन् ।
जलेश्वर नगरपालिका–१२ थरुवाही निवासी गौतम यादव गत जेठ ७ गते बिहान करिब ६ बजे विद्यालय जान्छु भन्दै घरबाट निस्किएका थिए ।
जलेश्वर नगरपालिका–२ स्थित एड्भान्स लर्नर्स हिमालयन इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत उनी विद्यालय पोसाक, झोला, कापी र साइकलसहित घरबाट निस्किए पनि त्यसपछि सम्पर्कविहीन भएका हुन् ।
विद्यालय पुगे वा बाटोमै हराए भन्नेबारे अहिलेसम्म कुनै यकिन जानकारी प्राप्त नभएको परिवारले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बालकको खोजी कार्य निरन्तर जारी रहेको बताए ।
प्रहरी, परिवार, आफन्त तथा स्थानीय तहबाट खोजी प्रयास भए पनि हालसम्म कुनै सुराक फेला नपरेको उनले जानकारी दिए ।
बालक बेपत्ता भएको एक महिना पूरा हुँदा पनि अवस्था पत्ता नलागेपछि परिवार गहिरो पीडामा रहेको छ । परिवारका सदस्यहरू दिनरात खोजीमा जुटिरहेका छन् भने छोराको सकुशल फिर्तीको आशामा रहेका छन् ।
स्थानीयले समेत सानो उमेरको बालक लामो समयसम्म बेपत्ता रहनु चिन्ताजनक भएको भन्दै खोजी कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
परिवारले गौतम यादवलाई देख्ने वा उनको अवस्थाबारे जानकारी पाउने जो कोहीलाई नजिकको प्रहरी कार्यालय वा परिवारसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

