रास्वपा धनुषा र महोत्तरीका सभापतिको निलम्बन फुकुवा

जनकपुरधाम, ०६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा र महोत्तरी जिल्लाका सभापतिमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ ।
पार्टीले महाधिवेशन तयारीलाई ध्यानमा राख्दै संगठनात्मक गतिविधि र अधिवेशन प्रक्रिया पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
पार्टी सचिवालयको असार ४ गते बसेको बैठकले दुवै जिल्लामा रोकिएको अधिवेशन प्रक्रिया र संगठनात्मक गतिविधि खोल्ने निर्णय गरेको जनाइएको छ । निर्णयसँगै ती जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट तथा सहभागिताको बाटो पनि खुला भएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको पत्रअनुसार केन्द्रीय निर्वाचन आयोगले यसअघि ती जिल्लामा लगाएको अधिवेशन रोक तथा रद्दसम्बन्धी निर्णयलाई महाधिवेशन प्रयोजनका लागि मात्र फुकुवा गरिएको हो ।
पार्टीका अनुसार महाधिवेशन सम्पन्न भएपछि सम्बन्धित जिल्लाको संगठनात्मक अडिट गरिनेछ । अडिटपछि मात्र अधिवेशन प्रक्रिया पुनः अघि बढाइने निर्णय पनि गरिएको छ ।
रास्वपाले महाधिवेशनलाई व्यवस्थित र पारदर्शी बनाउन संगठनात्मक संरचनालाई अस्थायी रूपमा खुला गरिएको स्पष्ट पारेको छ ।

