जनकपुरधाम, ०६ असार । नेपालले विश्वव्यापी आवधिक समीक्षा (युपीआर) प्रक्रियाअन्तर्गत गरेका मानवअधिकारसम्बन्धी प्रतिबद्धताहरूको कार्यान्वयन अवस्थाबारे जनकपुरधाममा सरोकारवालाबीच व्यापक छलफल गरिएको छ ।

कार्यक्रममा विशेषगरी मधेश प्रदेशमा विद्यमान लैंगिक हिंसा, दाइजो प्रथा, बालविवाह तथा महिलामाथि हुने विभेदका विषयलाई केन्द्रमा राखेर अन्तरक्रिया गरिएको थियो ।

मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय र युएनएफपिएको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा युपीआरमार्फत नेपालले प्राप्त गरेका सुझावहरूको कार्यान्वयन अवस्था, प्रदेश तथा स्थानीय सरकारको भूमिका र आगामी चुनौतीबारे समीक्षा गरिएको हो ।

कार्यक्रममा मन्त्रालयको समाज कल्याण महाशाखाकी निर्मला मिश्रले मधेशमा महिला तथा बालबालिकामाथि हुने लैंगिक हिंसाका घटनाहरू अझै चिन्ताजनक रहेको बताइन् ।

उनले शिक्षा, चेतना र आर्थिक सशक्तीकरणको अभावका कारण महिलाहरू विभिन्न प्रकारका हिंसा र विभेदको शिकार बन्ने गरेको उल्लेख गर्दै समस्या समाधानका लागि समुदायस्तरबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

यौन तथा प्रजनन स्वास्थ्य विज्ञ समीर घिमिरेले युपीआरलाई मानवअधिकारको अवस्था मूल्यांकन गर्ने मात्र नभई सुधारका लागि मार्गनिर्देशन गर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय संयन्त्रका रूपमा व्याख्या गरे । उनले लैंगिक हिंसा नियन्त्रण, महिला अधिकार संरक्षण तथा सामाजिक कुरीति अन्त्यका विषयमा प्रदेश र स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

उनका अनुसार युपीआर प्रक्रियाअन्तर्गत नेपालले २८४ भन्दा बढी अन्तर्राष्ट्रिय सुझाव प्राप्त गरेको छ । तीमध्ये लैंगिक हिंसा न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार, दाइजो प्रथा उन्मूलन, बालविवाह नियन्त्रण तथा दण्डहीनताको अन्त्यजस्ता विषय प्रमुख प्राथमिकतामा रहेका छन् ।

छलफलमा सहभागीहरूले मधेश प्रदेशमा अझै पनि दाइजो प्रथा, बालविवाह र लैंगिक हिंसाजस्ता सामाजिक समस्या गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यस्ता कुरीति अन्त्य नगरेसम्म मानवअधिकारको पूर्ण सुनिश्चितता सम्भव नहुने धारणा राखे । उनीहरूले कानुनी व्यवस्था कार्यान्वयनसँगै जनचेतना अभिवृद्धि, शिक्षा विस्तार र स्थानीय तहको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका थिए ।

कार्यक्रमले मानवअधिकार संरक्षण तथा लैंगिक समानता प्रवद्र्धनका लागि प्रदेशस्तरबाट थप प्रभावकारी नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।