जानकी मेडिकल कलेजमा डायलासिस सेवा सुरु

जनकपुरधाम, ०६ असार । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा डायलासिस सेवा सञ्चालनमा आएको छ ।
मिर्गौला रोगबाट पीडित बिरामीलाई सहज, सुलभ र स्थानीयस्तरमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले पाँच शैय्याको डायलासिस इकाइ सञ्चालनमा ल्याएको हो ।
एक विशेष कार्यक्रमबीच क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादवले सेवाको औपचारिक उद्घाटन गर्दै स्वास्थ्य सेवाको विस्तारले स्थानीय नागरिकलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । उनले मिर्गौला रोगका बिरामीले उपचारका लागि टाढाटाढासम्म जानुपर्ने बाध्यता अब क्रमशः कम हुँदै जाने बताए ।
अस्पतालका डाइरेक्टर अमितरञ्जन मिश्राले मधेश प्रदेशका विभिन्न जिल्लाका मिर्गौला रोगीहरू नियमित डायलासिसका लागि अन्य शहर धाउन बाध्य भइरहेको अवस्थामा नयाँ सेवा सुरु गरिएको जानकारी दिए । समयमै डायलासिस सेवा नपाउँदा बिरामीले थप जटिल स्वास्थ्य समस्या भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले स्थानीयस्तरमा सेवा विस्तारले उपचार पहुँच बढाउने बताए ।
नेपालमा मिर्गौला सम्बन्धी रोगीको संख्या उल्लेख्य रहेको उल्लेख गर्दै मिश्राले नयाँ सेवाले बिरामी र उनका परिवारलाई आर्थिक तथा मानसिक दुवै रूपमा राहत पुग्ने विश्वास व्यक्त गरे । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अन्य स्वास्थ्य संस्थाको तुलनामा सुलभ शुल्कमा सेवा उपलब्ध गराइने पनि उनले बताए ।
मधेश प्रदेशमा पछिल्लो समय मिर्गौला रोगीको संख्या बढ्दै गएको अवस्थामा स्थानीय स्तरमा डायलासिस सेवा विस्तार हुनु स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसअघि धेरै बिरामीहरू उपचारका लागि जनकपुरधाम बाहिरका अस्पताल पुग्नुपर्ने बाध्यता रहेको थियो ।
नयाँ सेवा सञ्चालनसँगै बिरामीले समय, खर्च र उपचार पहुँचका हिसाबले सहजता पाउने विश्वास गरिएको छ ।
उद्घाटन कार्यक्रममा जानकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका निमित्त प्रमुख रामबहादुर यादव, क्षिरेश्वरनाथ नगरपालिका–१ का वडाध्यक्ष मकेश्वर यादव, चिकित्सक, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

