जनकपुरधाम, ०६ असार । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले धनुषामा सप्ताहव्यापी सचेतना अभियान सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाको आयोजनामा असार ६ देखि १२ गतेसम्म सञ्चालन हुने अभियानको पहिलो दिन सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

‘लागुऔषधको चुनौती चिनौं, सामाजिक समाधानको बाटो खोजौं’ भन्ने नारासहित सुरु गरिएको अभियानको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले लागुऔषधको समस्या समाजकै साझा चुनौतीका रूपमा विकसित भइरहेको बताए ।

उनले लागुऔषधको बढ्दो प्रयोगका कारण विशेषगरी युवा पुस्ता बढी जोखिममा परेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रशासन, सुरक्षा निकाय, परिवार, विद्यालय र समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखे ।

पारिवारिक विखण्डन र कलहले पनि युवाहरूलाई लागुऔषधतर्फ धकेल्ने गरेको भन्दै उनले सामाजिक तथा पारिवारिक वातावरण सुधार्नुपर्ने आवश्यकता औंल्याए ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले मधेश प्रदेश सरकारसँगको समन्वयमा लागुऔषधविरुद्धको अभियान सञ्चालन भइरहेको जानकारी दिँदै यसलाई स्थानीय तह हुँदै वडा स्तरसम्म विस्तार गर्ने लक्ष्य रहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपेश खड्का, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी तथा विभिन्न सरकारी कार्यालय, सुरक्षा निकाय र सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको आवश्यकता औंल्याएका थिए ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार अभियान अवधिभर जनचेतनामूलक अन्तरक्रिया, प्रचारप्रसार, विद्यालय केन्द्रित कार्यक्रम तथा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ । अभियानमार्फत लागुऔषध दुरुपयोग, अवैध कारोबार र त्यसले व्यक्ति, परिवार तथा समाजमा पार्ने असरबारे नागरिकलाई जानकारी गराउने लक्ष्य राखिएको छ ।

धनुषासहित मधेश प्रदेशका सीमावर्ती जिल्लाहरूमा लागुऔषधको समस्या बढ्दै गएको चिन्ताका बीच सुरु गरिएको यो अभियानलाई सरोकारवालाले सकारात्मक पहलका रूपमा लिएका छन् ।