स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई युवक पक्राउ

सर्लाही, ०६ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा रामनगर गाउँपालिका–३ निवासी गुडु कुमार यादव र रामनगर गाउँपालिका–१ निवासी २४ वर्षीय रुपेश कुमार यादव रहेका छन् ।
प्रहरीले असार ४ गते भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०५–००१ प ११०६ नम्बरको मोटरसाइकललाई मलङ्गवा नगरपालिका–१० स्थित झिम पुल क्षेत्रमा जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । सो क्रममा उनीहरूको साथबाट ३२ लाख रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले उनीहरूमाथि हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतबाट सात दिनको म्यादसमेत लिइसकेको छ । बरामद रकमको स्रोत, प्रयोग तथा सम्भावित अवैध वित्तीय कारोबारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खुला सीमाका कारण सीमावर्ती क्षेत्रमा अवैध रकम ओसारपसार तथा हुण्डी कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बेला सर्लाही प्रहरीले ठूलो परिमाणको नगद बरामद गर्न सफल भएको हो ।

