पर्सा, ०६ असार । पर्साको वीरगञ्ज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई जना बालकलाई प्रहरीले भागेको करिब डेढ घण्टामै नियन्त्रणमा लिएको छ ।

डाका तथा चोरीसम्बन्धी मुद्दामा सजाय भुक्तान गरिरहेका सर्लाहीका दुई बालक शुक्रबार दिउँसो बाल सुधार गृहबाट भागेका थिए । फरार हुनेमा मलङ्गवा नगरपालिका–३ निवासी वशिर साहका १० वर्षीय छोरा नौसाद साह र सहिद साहका ११ वर्षीय छोरा नजिर साह रहेका छन् ।

प्रहरीका अनुसार दुवै बालकले सुधार गृहको पूर्वतर्फ रहेको भवनको माथिल्लो तलामा रहेको शौचालयको भेन्टिलेसन फुटाएर दिउँसो करिब १ः२० बजे सुरक्षाकर्मीको नजर छल्दै फरार भएका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साले विशेष टोली परिचालन गरी खोजी अभियान सुरु गरेको थियो । खोजतलासका क्रममा प्रहरीले भारततर्फ जाने तयारीमा रहेका दुवै बालकलाई वीरगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रको मितेरी पुल नजिकबाट दिउँसो करिब ३ः३० बजे नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले सीमा नाकाबाट पक्राउ परेका दुवै बालकलाई पुनः बाल सुधार गृहको नियन्त्रणमा पठाउने प्रक्रिया अघि बढाएको छ । साथै उनीहरू कसरी भाग्न सफल भए र सुरक्षा व्यवस्थामा कहाँ कमजोरी रह्यो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।