सिरहा, ०९ कार्तिक । सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेव अनवरलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

गोलबजारबाट घरतर्फ जाँदै गर्दा वडा नं. ८ चोहर्वाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अनवरलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।

प्रहरीका अनुसार अनवरविरुद्ध जातीय, धार्मिक तथा साम्प्रदायिक एकतामा खलल पुर्‍याई सार्वजनिक शान्ति भंग गरेको तथा तोडफोड र आगजनी गराएको आरोपमा जाहेरी दर्ता भएको छ ।

गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभावस्वरूप सिरहाको गोलबजारमा समेत हिंसा, तोडफोड तथा आगजनी भएको घटनामा वडाध्यक्ष अनवरको भूमिका रहेको प्रहरीको दाबी छ ।

उनीविरुद्ध हिन्दु सम्राट सेनाका कार्यकर्ताहरूले उजुरी दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीमाथि लगाइएका आरोप प्रमाणित भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने बताइएको छ ।